छैठो आदिवासी चलचित्र महोत्सव हुने
SamacharDesk – विजयरत्न | २०८३ जेठ १४, बिहिबार
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैठौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३” हुने भएको छ ।
आज (बिहिवार) महासंघले पत्रकार सम्मेलन गर्दै आउँदा जेठ १७ देखि १९ गतेसम्म काठमाडौको चाबहिलंस्थित चलचित्र विकास बोर्डमा महोत्सवको आयोजना हुने जानकारी दिएको हो ।
महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक सशक्त उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने दावी महासंघको छ ।
साथै अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ता तथा समुदायबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास महासंघले लिएको छ ।
महोत्सवमा लिम्बू, नेवाः, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको छ ।
कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित “रीत”, अमृतमान महर्जन निर्देशित “स्वयनगु”, जनक गुरुङ निर्देशित “ङोल्स्यो रामरानी”, निमा लामा तामाङ निर्देशित “ह्याङ तामाङ”, तथा अशोक आले मगर निर्देशित “दिलसरा” प्रदर्शन गरिनेछ ।
लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित “तङसिङ”, हुतबहादुर तामाङ निर्देशित “दुखला ग्यम”, परशुराम चौधरी निर्देशित ’जाइछै सौसरा’ बिपना तामाङ भुजेल निर्देशित “निको पहिचान” तथा विशाल रोक्का मगर निर्देशित “लाहुरेनी” समावेश छन् ।
त्यसैगरी वृत्तचित्रतर्फ अनिल मगर निर्देशित “आग्रे”, होम कुमारी माझी निर्देशित “लदि पुजा” तथा अरविन्द विश्वास निर्देशित एआइ जेनेरेटेड वृत्तचित्र “बिराटनगरके प्राचिन राजवंशी” प्रदर्शन गरिनेछ ।
महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने बताइएको छ ।
नेपालको पहिलो आदिवासी मातृभाषी चलचित्र नेपालभाषाको ‘सिलु’ २०४४ सालमा रिलिज भएको थियो । सो समयदेखि आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी आदिवासी चलचित्र निर्माण भइसकेका छन् ।
Categorized in पेजथ्री




