arin enterprises

चलचित्र पत्रकार संघ नेपालको विदेश च्याप्टर विस्तार

SamacharDesk – विजयरत्न | २०८३ जेठ १७, आइतबार

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ ।

आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित संघले विदेश च्याप्टर गठन प्रकृया अघि बढाएको हो ।

यो निर्णयसँगै नेपाली चलचित्र पत्रकारितालाई प्रवासमा रहेका नेपाली समुदायसँग मात्र होइन, अन्तर्राष्ट्रिय सांस्कृतिक नेटवर्कसँग समेत जोड्ने आधार तयार भएको संघले जनाएको छ ।

हालै बसेको संघको कार्यसमिति बैठकमार्फत विभिन्न देशहरूमा च्याप्टर गठनका लागि संयोजकहरूलाई जिम्मेवारी दिइएको छ ।

कार्यसमिति निर्णय अनुसार अमेरिकामा दाङ शाखाका संस्थापक अध्यक्ष किसन रेग्मी, क्यानडामा संघका पूर्व उपाध्यक्ष श्याम अर्याल, जापानमा पूर्व सचिव उत्तम गौडेललाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै युरोप क्षेत्रमा मकवानपुर शाखाका पूर्व अध्यक्ष मणिराज गौतम, अष्ट्रेलियामा संघका सदस्य दीपेन्द्र घिमिरे, बेलायतमा सदस्य दीपश्न लुईटेल र कतारमा कमल साउदलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

संघका अध्यक्ष समीर बलामीका अनुसार पछिल्लो समय विदेशमा नेपाली चलचित्र, संगीत, साहित्यिक कार्यक्रम, कवि गोष्ठी तथा सांस्कृतिक प्रस्तुतिहरू उल्लेखनीय रूपमा बढ्दै गएका छन् ।

साथै, नेपाली फिल्मको छायांकन र अन्तर्राष्ट्रिय बजार विस्तार पनि विभिन्न देशमा सक्रिय रूपमा भइरहेको सन्दर्भमा यस्तो सञ्जाल आवश्यक बनेको उनले बताए ।

‘विदेश च्याप्टरले संस्थागत प्रतिनिधित्व मात्र नभई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्ध्दन, बजार विस्तारको माध्यमका रूपमा समेत काम गर्नेछ । यसले नेपाली चलचित्र पत्रकारितालाई विश्व मञ्चमा अझ प्रभावकारी र व्यवस्थित बनाउने छ’ अध्यक्ष बलामीको भनाई हो ।

यसअघि दुबईमा वरिष्ठ चलचित्र पत्रकार कमल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय च्याप्टर गठन भइसकेको छ । महासचिव गोपिकृष्ण चापागाईका अनुसार संघले आगामी एक वर्षभित्र तोकिएका सबै देशहरूमा च्याप्टर गठन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

Categorized in पेजथ्री