रन्जना लिपि प्रशिक्षणमा ७ वर्षदेखि ६० वर्षसम्मका सहभागी
SamacharDesk – बिराज | २०८३ जेठ १९, मंगलबार
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १७ का अध्यक्ष नवीन मानन्धरले रञ्जना लिपि अन्तर्राष्ट्रिय स्तरमा नेपालको मौलिकता चिनाउने मानक भएको बताएका छन् ।
कामपा वडा १७ ले संचालन गरेको रन्जना लिपि लेखन प्रशिक्षणमा बोल्दै कामपा प्रवक्ता समेत रहेका वडाध्यक्ष मानन्धरले यस्तो भनेका हुन् ।
गत जेठ १३ गतेबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको अवलोकन क्रममा पुगेका मानन्धरले रन्जना लिपि अक्षर मात्र नभई कलाकै एउटा अनुपम नमूना भई यसैले नेपाललाई विश्वसामु चिनाइरहेको विचार राखे ।
आउँदो २० गते समापन हुने एक हप्ते रन्जना लिपि लेखन प्रशिक्षणमा१७ वडाका ३० जनाले प्रशिक्षण लिइरहेका छन् ।
‘७ देखि ६० वर्ष उमेरका व्यक्तिहरुको सहभागीता यो प्रशिक्षणको सबैभन्दा उत्साहजनक विषय हो । सबै वडावासीसँगको सहकार्यमा मौलिक लिपिमा अभिलेखन तयार पार्न र भाषा तथा लिपिको उत्थान गर्ने उद्देश्यले प्रशिक्षण चलाएका हौँ ।’ मानन्धरले भने ।
प्रशिक्षणमा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सिप (क्यालिग्राफी) सिकाइँदैछ ।
संयुक्त राष्ट्र संघमा नेपाललाई छुट्टै राज्यका रुपमा मान्यता दिलाउन नेपालमा नै विकास भएको रञ्जना लिपिलाई आफ्नो लिपिका रुपमा पेश गरिएको स्मरण गर्दै यस्ता इतिहास बचाउन अहिले थालिएको प्रशिक्षणको ठुलो योगदान दिने विश्वास मानन्धरले व्यक्त गरे ।
प्रशिक्षणमा नेपाल लिपि गुथिका अध्यक्ष अनिल स्थापित मुख्य प्रशिक्षकका रुपमा छन् ।
Categorized in स्थानीय




