arin enterprises

जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान

SamacharDesk – बिराज | २०८३ जेठ २१, बिहिबार

काठमाडौँ । काठमाडौं महानगरपालिकामा नगर प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका विष्णुप्रसाद जोशीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

बुधबार काठमाडौँ महानगरपालिकाकोे सभा कक्षमा आयोजित एक समारोहमा कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले जोशीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले महानगरबासीलाई दुःख पर्दा नगर प्रहरी बल सम्झने गरी सेवा प्रदान गर्न निर्देशन दिए ।

‘महानगरपालिकाको मुहार नगर प्रहरी बलको सेवा र आचरणमा देखिन्छ । त्यसैले कानुनले तोकेका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन, शिष्टता र नम्रताबाट महानगरबासीको साथीका रुपमा आफूलाई स्थापित गराउनुहोला ।’ डंगोलले निर्देशन दिए ।

त्यस क्रममा प्रहरी बलका प्रमुख जोशीले, कर्तव्यप्रति इमान्दार र निष्ठामा कुनै पनि कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

२०५० भदौ १४ गते नगर प्रहरी सेवामा प्रवेश गरेका जोशी २०६५ भदौ १५ गते नगर प्रहरी निरीक्षक, २०७२ माघ १ गते नगर प्रहरी नायव उपरीक्षक, २०७७ फागुन १० गते नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका थिए ।

जेठ ३ गते बसेको ४९औँ कार्यपालिका बैठकले जोशीलाई नगर प्रहरी उपरीक्षकबाट नगर प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति गरेर महानगर प्रहरी बलको प्रमुखमा मुकर्रर गर्ने निर्णय गरेको थियो ।

Categorized in स्थानीय