arin enterprises

मिथिला शर्माले गुरुहरुको नाममा स्रष्टाहरूलाई सम्मान गर्ने

SamacharDesk – विजयरत्न | २०८३ श्रावण ४, सोमबार

वरिष्ठ अभिनेत्री साथै नृत्य कलाकार मिथिला शर्माले आफ्ना गुरुहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने भएकी छन् ।

शर्माले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप स्थापना गरेको उक्त पुरस्कार यस वर्ष आउँदो साउन १३ गते बुधबार गुरु पुर्णिमाको अवसर पारेर विभिन्न स्रष्टाहरुलाई प्रदान गर्न लागिएको हो ।

अघिल्लो वर्षबाट सुरु गरिएको उक्त सम्मान आउँदो साउन १३ गते बुधबार राजधानीमा नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव र तेस्रो स्रष्टा सम्मान कार्यक्रममा प्रदान गर्न लागिएको हो ।

कार्यक्रममा सुप्रशिद्ध नृत्यांगना विमला श्रेष्ठ क्षेत्रीलाई राजपाल थापा नृत्य साधना सम्मान २०८३ प्रदान गरिने भएको छ । त्यसैगरी सुप्रशिद्ध गायक तथा संगीतकार डा. किरण प्रधानलाई गोपाल योञ्जन संगीत साधना सम्मान २०८३ बाट सम्मान गरिनेछ ।

विभिन्न सांगीतिक तथा नृत्यात्मक प्रस्तुतिसहित आयोजना हुने कार्यक्रममा सुप्रशिद्ध साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३ प्रदान गरिने बताइएको छ ।

त्यस्तै सुप्रशिद्ध हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई हाडा एन्ड पाल हास्य व्यङ्ग्य साधना सम्मानबाट सम्मानित गरिनेछ ।

त्यस्तै, सुप्रशिद्ध अभिनेता तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३ प्रदान गरिने अभिनेत्री शर्माले जानकारी दिएकी छन् ।

नेपाल पूर्व प्रहरी कला साधना सम्मान पहिलोपटक प्रदान गरिन लागिएको हो । नेपाल पूर्व प्रहरी कलाकार संघकी सल्लाहकारसमेत रहेकी शर्माले आफ्ना गुरुहरूलाई अमर राख्ने उद्देश्यले आफ्ना गुरुहरूको नाममा सम्मान स्थापना गरेको बताइन् ।

‘अभिनय, गायन र नृत्यका मेरा गुरुहरूलाई गुरु दक्षिणास्वरूप यो सम्मान स्थापना गरेकी हुँ । विगतले अंश माग्दैन, तर ३६५ दिनमा विशेष एक दिन गुरुहरूलाई सम्झिएर कार्यक्रम गर्दा गुरुहरूको गर्विलो इतिहास जीवित रहने विश्वास लिएकी छु’ शर्माले थपिन् ।

Categorized in पेजथ्री