arin enterprises

विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट

SamacharDesk – बिराज | २०८३ श्रावण १०, आइतबार

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारी तीव्र बनाएको छ ।

महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान का रूपमा मनाउन लागेको जनाएको छ ।

नेफिनका अध्यक्ष निमा ह्योल्मो लामाले खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको सहभागिता गराई दिवसलाई अधिकार प्राप्तिको सशक्त आन्दोलनका रूपमा स्थापित गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘यो पटकको विश्व आदिवासी दिवस नेपाल मात्र नभई विश्वलाई एउटा सन्देश दिने किसिमले तयारी गरिरहेका छौं । यस पटक आदिवासी दिवस साँस्कृतिक र खानाका परिकारहरुको महोत्सबको रुपमा आयोजना गर्न लागेका छौं ।’ महासंघका उपाध्यक्ष तथा प्रचार प्रसार समिति संयोजक अमृत बहादुर सुनुवारले भने ।

महासंघका महासचिव विमल सारु मगरले काठमाडौं उपत्यकामा मात्रै करिब २० लाख आदिवासी जनजातिको बसोबास रहेको उल्लेख गर्दै कम्तीमा ३५ हजार सहभागी उपस्थित गराउने लक्ष्यका साथ व्यापक तयारी भइरहेको जानकारी दिए ।

महासंघका अनुसार तयारीलाई प्रभावकारी बनाउन २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

विभिन्न जातीय सदस्य संस्था, प्रदेश तथा जिल्ला समन्वय समितिहरू, युवा, महिला, विद्यार्थी तथा सांस्कृतिक समूहहरू कार्यक्रमको तयारीमा सक्रिय रूपमा जुटेका छन् ।

भाषा, संस्कृति र अधिकारको साझा आवाज 

दिवसको अवसरमा आदिवासी जनजातिका मातृभाषा संरक्षण, भाषा पत्रकारिता, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतमा अधिकार, भूमि, पहिचान, समानुपातिक सहभागिता, सामाजिक न्याय र संविधानप्रदत्त अधिकार सम्बन्धी विषयलाई विशेष रूपमा उठाइने नेफिनले जनाएको छ ।

नेपालमा ५९ मान्यता प्राप्त आदिवासी जनजाति समुदाय रहेका छन् भने प्रत्येक समुदायको आफ्नै भाषा, संस्कृति, इतिहास, परम्परा, ज्ञान प्रणाली, चाडपर्व, रीतिरिवाज र मौलिक जीवनशैली रहेको छ ।

साथै, कार्यक्रममा नेपालका आदिवासी आन्दोलनले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धि, संविधानमा आदिवासी जनजातिको पहिचान, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO-169), संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकारसम्बन्धी घोषणापत्र (UNDRIP) लगायतका विषयमा पनि चर्चा गरिनेछ ।

संस्कृति, पहिचान र मौलिकताको विराट उत्सव

यस वर्षको विश्व आदिवासी दिवस नेपालका ५६ भन्दा बढी आदिवासी जनजातिको मौलिक संस्कृति, कला, परम्परा र जीवनशैली एकै स्थानमा अवलोकन गर्न सकिने विशेष अवसर आयोजक संस्थाले बताएको छ ।

कार्यक्रममा विभिन्न समुदायका परम्परागत खानाका परिकारहरूको प्रदर्शनी तथा बिक्री, मौलिक हस्तकला, जातीय पोशाक, सांस्कृतिक सामग्री, मौलिक बाजागाजा तथा जीवनशैली झल्काउने प्रदर्शनी गरिनेछ ।

साथै विभिन्न जातीय समुदायका कलाकारहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्य, गीत, बाजागाजा र सांस्कृतिक प्रस्तुति मार्फत नेपालको आदिवासी विविधतालाई जीवन्त रूपमा प्रस्तुत गर्नेछन् ।

खुलामञ्चमा एकै दिन दर्जनौं जातीय समुदायको सांस्कृतिक झाँकी, मौलिक बाजागाजा, परम्परागत पोशाक र खानाका परिकार प्रदर्शन गरिने भएकाले कार्यक्रम नेपालकै सबैभन्दा ठूलो आदिवासी सांस्कृतिक महोत्सवमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

महासंघले सम्पूर्ण आदिवासी जनजाति समुदाय, सरोकारवाला निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई नेपालको सांस्कृतिक विविधता, मौलिक सभ्यता र आदिवासी जनजातिको पहिचान तथा अधिकारको साझा अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।

Categorized in राष्ट्रिय