रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पर्यटन बोर्डमा श्रद्धाञ्जली
SamacharDesk – बिराज | २०८३ भाद्र २४, बुधबार
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले बाढीमा ज्यान गुमाएका सबैप्रति मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए ।
साथै अझै बेपत्ता रहेका नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र खोजी कार्य सफल होस् भन्ने कामनासहित दीप प्रज्ज्वलन गरिएको थियो ।
बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्याउनुका साथै त्यस क्षेत्रमा आवतजावत गरिरहेका पर्यटक तथा यात्रुहरू समेत प्रभावित भएका थिए ।
बाढीपछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा परिवारसँग सम्पर्क कायम गराउने काममा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेका छन् ।
दीप प्रज्वलन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी लगायतको उपस्थिती थियो ।
साथै बोर्डका पदाधिकारीहरु, पर्यटक प्रहरीका अधिकारी तथा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि र पर्यटन व्यवसायीहरूको समेत सहभागिता रहेको थियो ।
Categorized in राष्ट्रिय




