बंगलादेशमा नेपालको पर्यटन प्रवर्ध्दन
SamacharDesk – बिराज | २०८३ कार्तिक १३, बिहिबार
काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आयोजित बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर (बीटीटीएफ) २०२६ मा नेपाल पर्यटन बोर्ड नेतृत्वको १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवद्र्धन गरिरहेका छन् ।
बोर्ड नेतृत्वको नेपाली टोलीले नेपालका हिमाली दृश्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र विविध पर्यटकीय अनुभवलाई बंगलादेशका पर्यटकमाझ परिचित गराइरहेको बोर्डका वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
ढाकास्थित बंगलादेश–चीन मैत्री सम्मेलन केन्द्रको कार्निभल हलमा ‘एआईमा आधारित पर्यटन, दिगो गन्तव्य’ भन्ने मूल नाराका साथ आजबाट तीन दिने मेला सुरु भएको हो ।
मेलामा नेपालले आफ्नो प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा, पर्वतारोहण, आध्यात्मिक पर्यटन तथा साहसिक गतिविधिलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिरहेको छ ।
यसअघि नेपाल पर्यटन बोर्ड र ढाकास्थित नेपाली राजदूतावासको सहकार्यमा २८ अक्टोबर २०२६ मा ‘नेपाल इज कलिङः भिजिट, एक्सप्लोर, एक्सपेरियन्स’ नारासहित पर्यटन प्रवर्ध्दन कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा पर्यटन व्यवसायीबीच व्यावसायिक छलफल तथा सम्पर्क विस्तार (बीटुबी), नेपालको पर्यटनबारे प्रस्तुति र सांस्कृतिक प्रदर्शनी गरिएको थियो ।
भौगोलिक निकटता, सांस्कृतिक समानता र सहज क्षेत्रीय सम्पर्कको सम्भावनालाई उपयोग गर्दै बङ्गलादेशलाई नेपालको महत्वपूर्ण पर्यटक स्रोत बजारका रूपमा विकास गर्ने लक्ष्यसहित बोर्डले प्रवद्र्धनलाई प्राथमिकता दिएको छ ।
नेपाललाई हिमाल र पदयात्रामा मात्र सीमित नराखी संस्कृति, सम्पदा, वन्यजन्तु, आध्यात्मिकता, स्वास्थ्य तथा आरोग्य पर्यटन र वर्षैभरि अनुभव गर्न सकिने विविध गतिविधिको गन्तव्यका रूपमा स्थापित गर्नु यस अभियानको उद्देश्य रहेको छ ।
बोर्डले बंगलादेशी पर्यटकलाई नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधता अनुभव गर्न आमन्त्रण गर्दै दुई देशबीचको पर्यटन साझेदारीलाई थप सुदृढ बनाउन व्यावसायिक सहकार्य र बजार प्रवद्र्धनलाई निरन्तरता दिने जनाएको छ ।
Categorized in बिजनेस




