arin enterprises

७ देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपालमा

SamacharDesk – बिराज | २०८३ कार्तिक १६, आइतबार

काठमाडौं । नेपालको पर्यटन प्रवर्ध्दनका लागि विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरु नेपाल आइपुगेका छन् ।

नेपालमा ओझेलमा परेका विभिन्न पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत् प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा विभिन्न देशका कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका हुन् ।

नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि तथा पर्यटनका विविध अनुभव विश्वभरका दर्शकमाझ पुर्याउने उद्देश्यले उनीहरुलाई नेपाल बोलाइएको हो ।

यस कार्यक्रम अन्तर्गत क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी त्यहाँका आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्रकृति र पर्यटन गतिविधिसम्बन्धी भिडियो तथा डिजिटल सामग्री उत्पादन गर्नेछन् ।

उनीहरूले टिकटकसहितका सामाजिक सञ्जालमार्फत ती सामग्री सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताए ।

एनटीबी र टिकटकबीच यसअघि सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।

उक्त सहकार्य अन्तर्गत सुरु गरिएको ‘#LifetimeExperience’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियोमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ ।

‘अभियानमा अन्तर्राष्ट्रिय तथा नेपाली कन्टेन्ट क्रिएटरहरूलाई नेपालका विभिन्न गन्तव्यको अनुभव गराएर सामग्री उत्पादन गर्न प्रोत्साहित गरिनेछ । यसरी उत्पादन गरिएका सामग्रीहरुलाई टिकटकमार्फत् प्रवर्ध्दन गरिने छ’ थपलियाले भने ।

यस सहकार्यलाई प्रभावकारी बनाउन सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्ध्दनका गतिविधिलाई निरन्तरता दिइएको वरिष्ठ प्रबन्धक थपलियाले बताए ।

यसअघि गत जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला सम्पन्न भएको थियो ।

उक्त कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत गन्तव्य प्रवद्र्धनका लागि प्रशिक्षण दिइएको थियो ।

क्रिएटरहरूमध्ये बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाकी बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी र यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन् ।

फ्रान्सका जेरेमी ब्युडेट चितवन पुगेर त्यहाँको वन्यजन्तु, निकुञ्ज तथा थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभवलाई समेट्नेछन् ।

त्यसैगरी पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमार्फत प्रस्तुत गर्नेछन् ।

भ्रमणका क्रममा क्रिएटरहरूले सम्बन्धित गन्तव्यका प्राकृतिक तथा सांस्कृतिक विशेषतासँगै स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि र पर्यटकले लिनसक्ने मौलिक अनुभवलाई समेटेर सामग्री उत्पादन गर्ने थपलियाको भनाई छ ।

डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको प्रचार गर्ने अभियानले वास्तविक यात्राका अनुभव, दृश्य र व्यक्तिगत कथामार्फत सम्भावित पर्यटकलाई आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

विशेषगरी युवा पुस्तामाझ लोकप्रिय टिकटकमा प्रसारण हुने छोटा भिडियोले नयाँ गन्तव्यको पहिचान विस्तार गर्नुका साथै पर्यटकहरुलाई गन्तव्यको यात्राका लागि निर्णयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालका हिमाल, प्रकृति र संस्कृतिलाई विश्वका विभिन्न देशका दर्शकमाझ पुर्याउने यो पहलले डिजिटल पर्यटन प्रवर्ध्दनलाई थप विस्तार गर्ने विश्वास बोर्डले लिएको छ ।

Categorized in बिजनेस