कुल संक्रमित संख्या ६५९१ पुग्यो, आज पनि काठमाडौंमा संक्रमित भेटिए
SamacharDesk – विकाश | २०७७ आषाढ २, मंगलबार

नेपालमा थप ३ सय ८० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न १४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा देशका विभिन्न जिल्लामा ३ सय ८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मन्त्रालयका अनुसार ३ सय ५२ जना पुरुष र २८ जना महिलामा संक्रमण देखिएको हो ।
आजको थप नयाँ संक्रमित संख्यासँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । तीमध्ये ६ हजार ९२ जना पुरुषहरु छन् भने ४ सय ९९ जना महिला हुन् ।
आज विभिन्न ३१ वटा जिल्लामा संक्रमण देखिएको हो ।
पाँचथर, सुनसरी, सिराहा, रौतहट, महोत्तरी, पर्सा, गोरखा, नवलपरासी पूर्व, बागलुङ, तनहुँ, कास्की, स्याङ्जा, अछाम, बैतडी, डोटी, कन्चनपुर, कैलाली, बाँके, बर्दिया, सप्तरी, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौं, मोरङ, रोल्पा, सर्लाही जिल्लामा संक्रमित भेटिएका हुन् ।
कुल संक्रमित जिल्ला संख्या आज पनि ७३ नै कायम छ ।
कोरोना संक्रमण निको हुनेको संख्या भने एक हजार एक सय ५८ पुगेको छ । पछिल्लो पटक थप एक सय १७ जना संक्रमणमुक्त भएर देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
देशभरमा अहिलेम्म पिसिआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ र आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ५ हजार ५५ र आरडिटी विधिबाट ४ हजार १ सय ८३ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ५ सय ३१ रहेको छ ।
हालसम्म यहाँ कोरोना संक्रमणका कारण १९ जनाको ज्यान गइसकेको छ ।
Categorized in राष्ट्रिय