छठ पर्वका लागि कमलपोखरी तयार
SamacharDesk – बिराज | २०८३ कार्तिक २९, शनिबार
काठमाडौँ । विशेष गरी तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो काठमाडौंमा पनि तामझामका साथ मनाउन थालिएको छ ।
अहिले छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छठको तयारी जोडतोडका साथ हुँदैछ ।
यसै क्रममा काठमाडौँको कमलपोखरी छठका ब्रतालुका लागि तयार भएको जनाइएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १ ले अग्रवाल भवनसँग सहकार्य गर्दै ब्रतालुहरुका लागि बस्ने स्थानको व्यवस्था गरिएको हो ।
सरसफाइ, बत्तीको व्यवस्थापन, घाट व्यवस्थापन लगायत काम तयारी अवस्थामा रहेको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए ।
‘कमलपोखरी छठ पर्वको पर्याय जस्तै बनेको छ । ब्रतालुहरुलाई यो स्थान निःशुल्क उपलब्ध गराउने गरिएको छ । श्रद्धालुहरुको चाप छ । सकेसम्म आउने जत्तिलाई व्यवस्थापन गर्ने प्रयत्न गर्नेछौँ ।’ श्रेष्ठको भनाई हो ।
अहिले कमलपोखरीलाई छठ पर्वलाई दुलही जस्तै सिंगारिएको छ ।
वडासचिव सर्वज्ञराज पौडेलले पर्व सुरु हुनुअघि नै सरसफाइ गरिएको बताए । पर्वका समयमा सुन्दरता र सुरक्षामा विशेष ध्यान दिएको र ब्रत सकिएपछि विशेष सरसफाइ गरिने पौडेलले जानकारी दिए ।
अग्रवाल भवनका प्रतिनिधि गजेन्द्र झाले, कमलपोखरीमा अहिलेको क्षमता ५ सय जना ब्रतालुको भए पनि स्थान ६ सय जनाका लागि स्थान व्यवस्थापनमा काम गरिरहेको बताए ।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले ब्रतका दिन लाइन व्यवस्थापन गर्ने, बिरामी र अशसक्तका लागि सम्भावित आकस्मिक सेवा र व्यवस्थापन जस्ता कामका लागि आफुहरु तयार रहेको बताए ।
विगतका वर्षदेखि काठमाडौंमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाट लगायत स्थान छठ पूजाका प्रमुख स्थलका रूपमा रहँदै आएको छ ।
बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन गरिँदै आएको छ ।
Categorized in संस्कृति





