arin enterprises

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भयो छठ पर्व

SamacharDesk – बिराज | २०८३ मङ्सिर १, सोमबार

आज विहानै उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।

नदी, पोखरी वा जलाशयका किनारमा जाग्राम बसेका व्रतालुहरूले उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्वलाई विदाइ दिएका हुन् । यससँगै व्रतालुहरुको निराहार व्रत पनि सम्पन्न भएको छ ।

यस अघि हिजो साँझ व्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका थिए । व्रतालुहरुले हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइसकेर सोही घाट वा जलाशय किनारमा रातभर जाग्राम बसी आज विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् ।

ब्रह्मवैवर्त पुराण अनुसार, सृष्टिकर्ता ब्रह्माकी मानसपुत्री देवसेना नै ’षष्ठी देवी’ (छठी मैया) हुन् । देवसेना महादेवका पुत्र कुमार कार्तिकेयकी पत्नी हुन् ।

छठ पर्वको अवसरमा तराई मधेसका नदी, पोखरी र जलाशयहरुमा ठुलै मेला लाग्ने गर्दछ ।

चार दिनसम्म मनाइने पर्व छठको तेश्रो दिन अस्ताउँदै गरेको सूर्यलाई र चौथो अनि अन्तिम दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिन तराई मधेसका जलाशयहरुमा हजारौं भक्तजन पुग्ने गर्दछन् ।

विशेष गरी जनकपुरधामका ऐतिहासिक पोखरीहरू गङ्गासागर, धनुषसागर, अङ्गराजसर र महाराजसागरमा, वीरगञ्जको घडिअर्वा, रानीघाट, मुर्ली र नगवा पोखरीको साथै विराटनगरको सिंघिया खोला, केशलिया खोला र सुनसरीको इनरुवा तथा इटहरीका नहर र जलाशयहरूमा ठुलो मेला लाग्ने गर्दछ ।

अन्य प्रमुख सहरहरू सप्तरीको राजविराज, सिरहाको लहान, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया, चितवनको नारायणी नदी किनार र नेपालगञ्जको बागेश्वरी मन्दिर तलाउमा भव्य छठ मेला लाग्दछ ।

विशेष गरी तराई–मधेसको महान चाडको रुपमा लिइने छठ पर्व पछिल्लो पटक काठमाडौं उपत्यकामा पनि धुमधामका साथ मनाउन थालिएको छ ।

काठमाडौंमा पछिल्लो समय कमलपोखरी छठ पर्वको केन्द्र नै बन्न पुगेको छ । साथमा गौरीघाट र गुह्येश्वरी क्षेत्र, पशुपतिनाथ मन्दिर नजिकैको बागमती नदी किनारमा उपत्यकाकै सबैभन्दा ठुलो छठ मेला लाग्छ र यहाँ सयौँ व्रतालुले पूजा गर्छन् ।

साथमा थापाथली बागमति क्षेत्र, वंशीघाट, टेकु र ललितपुरको कुपण्डोल घाटमा श्रद्धालुहरूको ठुलो घुइँचो लाग्छ ।

ललितपुरको नख्खु खोला किनार र काठमाडौँको बल्खु कुमारी क्लब क्षेत्रको साथै बालाजुको बाइसधारा, बोक्सीदह, कोटेश्वर दोभान, टङ्केश्वर, कुलेश्वर र रामघाटमा समेत छठ पूजा गरिन्छ ।

यस वर्ष सरकारले छठको अन्तिम दिन अर्थात् सप्तमीमा पनि सार्वजनिक बिदा दिएको छ ।

छठ पर्वसँग जोडिएको धार्मिक मान्यता र किम्वदन्तिहरुः

विभिन्न हिन्दू शास्त्र र पुराणमा छठी माता र छठ पर्वको उल्लेख पाइन्छ । अग्निपुराणमा पनि षष्ठी व्रतबारे उल्लेख गरिएको छ ।

त्रेतायूगमा भगवान श्रीराम र सीता माता छठ पर्वको व्रत बसेको वर्णन शास्त्रहरुमा पाइन्छ ।

कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान् राम र माता सीताले सरयू नदीको किनारमा विधिपूर्वक सूर्यदेवको आराधना र व्रत गरेको र त्यसैबेलादेखि सूर्य षष्ठी (छठ) मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ ।

द्वापर यूगको महाभारत कालमा पंच पाण्डव र द्रोपदीले पनि छठी माताको उपासना गरी व्रत बसेको वर्णन पाइन्छ । जुवामा सर्वस्व हारेर वनवास गएका पाण्डवहरू र उनीहरूकी पत्नी द्रौपदी १२ वर्षको वनबास र १ वर्षको गुप्तवासका लागि हिँडे ।

उनीहरुले आफ्नो गुमाएको राज्य र सम्मान फिर्ता पाउन तथा कष्टबाट मुक्ति पाउन महर्षि धौम्यको सल्लाहमा सूर्य देवता र षष्ठी माताको व्रत गरेको किम्वदन्ति रहेको छ ।

त्यस्तै भगवान् श्रीकृष्णका छोरा साम्ब निकै अहंकारी थिए । अहंकारमा चूर भएका साम्बलाई दुर्वासा ऋषिको कुष्ठरोग लाग्ने श्राप दिए । चर्मरोग अथवा कुष्ठरोग लागेका साम्बले ऋषिका सल्लाह र सूर्यको उपासना गरे र यसपछि उनको रोग निको भएको थियो ।

यिनै किम्वदन्तिको आधारमा छठ पर्वमा व्रत सबी सूर्य र छठी माताको उपासना गरे छालासम्बन्धी रोगबाट छुटकारा र दीर्घायु प्राप्त हुने विश्वास गरिन्छ ।

प्राचीन कालमा प्रियंवद नाम गरेका एक राजा सन्तान नभएर अत्यन्त दुखी थिए । महर्षि कश्यपको सल्लाहमा प्रियंवद दम्पत्तीले पुत्रको कामना गर्दै यज्ञ र षष्ठी देवीको व्रत गरे । त्यसपछि उनले स्वस्थ सन्तान प्राप्त गरे ।

त्यहीबेलादेखि सन्तान सुख, सुरक्षा र लामो आयुको कामना गर्दै छठी मैयाको पूजा गर्ने चलन बसेको विश्वास गरिन्छ ।

प्रकृती पूजा हो छठ पर्वः

छठ पर्वसँग विभिन्न धार्मिक विश्वास र मान्यताहरु जोडिएका छन् । तथापि छठमा पूजाको अभ्यासलाई हेर्ने हो भने यसको प्रत्यक्ष सम्वन्ध प्रकृती र मानव समाजको दैनिक जीवनसँग जोडिएको देख्न सकिन्छ ।

छठमा विशेष गरी सूर्यको उपासना गरिन्छ । सूर्यको उपासना परापूर्वकाल देखि चलिआएको छ ।

द्वापर यूगका महान योध्दा दानवीर कर्ण पनि सूर्यका भक्त थिए ।

सूर्य उपासनाको परम्पर वैदिक कालदेखि नै चल्दै आएको मानिन्छ । ऋग्वेदमा समेत सूर्यको आराधना र त्यसबाट प्राप्त हुने ऊर्जा एवं आरोग्यताको ठूलो महत्व वर्णन गरिएको छ ।

यो पर्वले प्रकृतिप्रति कृतज्ञता ज्ञापन गर्दछ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा चर्म साथै अन्य शारिरीक समस्या निराकरण हुने धार्मिक विश्वास एकातिर छ भने सूर्यको पहिलो किरणसँगै मानव शरीरले प्राकृतिक रूपमा भिटामिन ’डी’ र सौर्य ऊर्जा प्राप्त गर्ने वैज्ञानिकता यहाँ रहेको छ ।

Categorized in संस्कृति