arin enterprises

स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ मङ्सिर १, सोमबार

रौतहटको राजदेवी नगरपालिकामा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे दुर्घटना भएको हो ।

प्रहरीले बताए अनुसार स्कुटर आफैँ अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको छ । दुर्घटना पछि दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही दुर्घटनामा रौतहट यमुनामाई नगरपालिका–५ झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान घाइते भएका छन् ।

घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । दुवै घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Categorized in समाज