arin enterprises

मुखाष्टमीः शिवलाई पञ्चबुद्ध अंकित मुकुट पहिर्याउने दिन

SamacharDesk – सन्दिप महर्जन (Frannkey Franz) | २०८३ मङ्सिर २, मंगलबार

कार्तिक शुक्लपक्ष अष्टमी (कछलाथ्व अष्टमी) अर्थात मुखाष्टमी अथवा भनौं मुखःष्टमी ।

यस दिनमा ललितपुरस्थित बगलामुखीसँगै रहेको पाँचतल्ले प्यागोडा शैलीको मन्दिरमा रहेका कुम्भेश्वर महादेव अथवा भनौं सर्वेश्वर महादेवलाई मन्दिरका मूल पुजारीद्वारा पञ्चबुद्ध अंकित मुकुट पहिर्याई विराजमान गराइन्छ ।

यसैगरी विशेष विधि–विधानअनुसार पशुपतिनाथमा पनि बुद्ध मुकुट पहिर्याउने चलन कालान्तरदेखि चल्दै आएको छ । हरेक वर्ष कार्तिक शुक्ल अष्टमी अर्थात् कछलाथ्व अष्टमीको दिनलाई मुखाष्टमीको रुपमा लिइन्छ ।

वर्षमा आउने ४ प्रमुख अष्टमीमध्ये एक मानिने मुखाष्टमीको दिन एक छाक मात्र खाई ‘मुखः अप्सं भनी व्रत बस्ने चलन पनि रहि आएको छ ।

मुखाष्टमी भनेको के हो त ?

मुखाष्टमी भनेको मुखल, मुखः अर्थात् मुकुट लगाइदिने अष्टमी हो । यो दिन विभिन्न शिवालयमा शिवलिङ्गमा श्री पञ्चबुद्ध रहेको मुकुट पहिर्याउने गरिन्छ । तर हाल भने यो प्रथा पशुपतिनाथ र पाटनस्थित सर्वेश्वर महादेवस्थानमा मात्रै सिमित हुँदै गएको देखिन्छ ।

यस दिन पशुपतिनाथलाई लोकेश्वर करुणामयको अवतार धारण गरेको भनिन्छ भने सर्वेश्वरमा पनि मुकुट लगाइदिएर विधिपुर्वक पूजा गरेपछी सो एक दिनको लागि शिवलिङ्ग नभइ चैत्यको रुपमा पुजिन्छ ।

त्यस्तै शिवरात्रीको दिन पाटनको प्रसिद्ध करुणामय – रातो मछिन्द्रनाथलाई पनि शिवको भेषमा राखिन्छ र सो दिन लोकेश्वरले शिवको अवतार धारण गरेको मान्यता रहेको छ ।

सुन्दा अनौठो लागे पनि, काठमाडौ उपत्यकाको रैथाने संस्कृतिमा यो धार्मिक सहिष्णुताको अनुपम नमुना हो, सह–अस्तित्वलाई आत्मसात गर्नुको उपज हो ।

उपत्यकामा शिवलिङ्गलाई मात्र चैत्यको रुपमा लिने नभइ विभिन्न चैत्यहरु जलद्रोणी सहित पनि बनाइएका हुन्छन भने त्यसलाई शैव–बौद्धको धर्मको समग्र रुपमा लिइन्छ ।

किन लगाइदिन्छ त शिवलाई मुकुट ?

यसको बारे जान्नलाई यहाँको प्रचलित किम्वदन्ती सुन्नपर्ने हुन्छ । किराँतकालसँग जोडिने यो किम्वदन्तीको कति कुरा सत्य होला, कति कुरा मिथ्या पनि होला !

प्रचलित किम्वदन्ती अनुसार विरुपाक्ष नाम गरेका एक सुन्दर युवक १२ वर्षको उमेरमा आफ्नो घर छोडी वनमा बस्न गए । वनमै आफ्नो बासस्थान बनाइ बसेको थुप्रै वर्ष भयो र उनी युवक भए ।

एकदिन संयोगले आमा र छोराको जम्काभेट भयो तर थुप्रै वर्ष भइसकेकोले दुबैले एक अर्कालाई चिनेनन् र उनीहरु एक अर्काप्रती आकर्षित भइ कामवासनामा लीन भइ संभोग गरे ।

विरुपाक्षले पछि आफ्नो आमा हो भन्ने थाहा पाएपछि पाप मोचन गर्नाको लागि पशुपतिको शरणमा गए र महादेवले तामा पगालेर त्यसको झोल बनाएर पिए सबै पापबाट मुक्त हुन्छौ भनी पठाए ।

आज्ञा अनुसार तामा पकाइ अब पग्लियो होला भनी खोली हेर्दा, त्यसको रापले गर्दा उनी कुरुप भए ।

महादेवले आफूलाई झुक्याएको बुझी उनी बुद्ध कहाँ गए र बुद्धले उनलाई एउटा जपमाला दिए र मन्त्र जप गरेर जुन दिन खिइन्छ, तब पापमुक्त हुनेछौ भनी पठाए ।

त्यसपछी उनी बाग्मती किनारमा बसी हरेक दिन जप गर्दै बस्न थाले, तर धेरै समय जप गर्दा पनि माला नखिइएपछि दिक्क मानेर चहार्न हिँडे ।

यत्तिकैमा उनले एउटा बालक फलाम घोट्दै गरेको देखे र बच्चालाई सोध्दा फलाम घोटेर सियो बनाउन लागेको जवाफ पाए ।

त्यसपछी उनी फेरि जप गर्न थाले र एक दिन फेरि उनले वनमा दुइजनाले सियोले रुख काट्न खोजेको देखे र कुनै दिन भंगेरा जोडीले आफ्नो चुच्चोमा बाग्मतीबाट पानी ओसार्दै गरेको देखे ।

भंगेरालाई सोध्दा जवाफमा पोखरी भर्नलाई पानी ओसारको भन्ने जवाफ पाए ।

यसरी विभिन्न असामान्य काम देखेर अन्तिममा विरुपाक्षले जप मात्र गरेर नहुने तर धैर्यता, विश्वास र एकचित्त चाहिने भनी बुझेर तन मनले जप गर्न थाले र केही समयपछी माला खिइयो र उनी पाप मुक्त भए ।

त्यसपछि उनको कुरुप अनुहार पनि पहिले जस्तै सुन्दर भयो । पशुपतिले आफूलाई कुरुप बनाएको भन्दै रीसले उनले पाशुपात क्षेत्रमा शिवलिङ्गहरुमा लात हान्दै बिगार्दै हिँड्न थाले ।

आफूलाई पनि बाँकी नराख्ने बुझेर महादेवले बुद्धलाई पुकार गरे र बुद्धले आफ्नो पञ्चबुद्ध सहितको मुकुट दिई पहिरिन भने । विध्वंस गर्दै हिँडेका विरुपाक्ष पशुपतिको सामुन्ने पुग्दा त्यहाँ बुद्धको मुकुट देखी गुरुको सम्मानमा पशुपतिनाथलाई केही नगरी फर्किए ।

यसै अनुरुप श्री पशुपतिनाथलाई बुद्ध मुकुट लगाइदिएको भन्ने किम्वदन्ति समाजमा प्रचलित छ । आज पनि पशुपात क्षेत्रमा रहेको यता उता ढल्केको बिग्रेको शिवलिङ्गहरु, विरुपाक्षले गरेको निशानी हो भनी मान्दछन् ।

मुखाष्टमीको दिन बज्रयान र महायान बौद्धमार्गीहरुले १०८ लोकेश्वर मध्येका अन्तिम लोकेश्वर धरतीमा आउनुभएको दिनको रुपमा लिने गर्दछन् । साथै परम्परा अनुसार आजको दिन बज्रयानी बौद्ध धर्मावलम्बीहरु पशुपतिको दर्शन गर्न जाने गर्दछन् ।

परम्परामा लुकेको धार्मिक सहिष्णुताको सन्देश

कथा किम्वदन्ती जे जस्तो रहेता पनि दुई भिन्न धर्म बीचको दुरीलाई मेटाएर समागम रुपमा शैव– बौद्ध बीच सहिष्णुता कायम गर्ने यस्ता प्रचलनहरुलाई हामीले सम्मान गर्नुपर्छ ।

हाल भने, पशुपतिमा देखिएला भनी, मुकुटलाई फूलै फूलले ढाक्ने गरेको पनि पाइन्छ, जुन नगर्दा राम्रो हुनेथियो ।

पाटनको कुम्भेश्वरमा भने हाल पनि मन्दिर भित्र, सर्वेश्वर महादेवको ठूलो शिवलिङ्गमा पञ्चबुद्ध भएको तामाको मुकुटले छोपी दर्शनको लागि राख्ने गरिन्छ ।

यस दिन कुम्भेश्वर क्षेत्रमा मेला पनि लाग्ने गर्दछ भने कुम्भेश्वर मन्दिरलाई पाटनको पशुपतिनाथको रुपमा लिइने गरिन्छ ।

Categorized in विचार