युरोपियन च्याम्पियन्स लिग १२ अगस्टबाट पोर्चुगलमा हुने
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ५, शुक्रबार

कोरोना भाइरसको महामारीको कारण स्थगित जारी सिजनको च्याम्पियन्स लिगका खेलहरु सुचारु गर्नका लागि युइएफएले मिति र स्थान तय गरेको छ ।
यूरोपको फुटबलको सर्वोच्च निकाय युइएफएले युरोपियन च्याम्पियन्स लिगका अन्तिम ८ का खेलहरु गर्नका लागि १२ देखि २३ अगस्टसम्मकोे मिति तोकेको छ ।
त्यसअघि अन्तिम १६ का बाँकी खेलहरु अगस्ट ७ र ८ मा हुनेछ ।
त्यस्तै लिगका बाँकी खेलसहित फाइनल प्रतिस्पर्धा पोर्चुगलको लिस्बन सहरमा हुने भएको छ ।
प्रतियोगितामा म्यानचेस्टर सिटी विरुद्ध रियाल मेड्रिड, चेल्सी विरुद्ध बायर्न म्युनिख, युभेन्टस विरुद्ध लियोन र बार्सिलोना विरुद्ध नापोली गरि अन्तिम १६ का चार खेल बाँकी छन् ।
यसअघि चार टोली आरबी लेइप्जिग, एथ्लेटिको मेड्रिड, पिएसजी र एट्लान्टा भने अर्को चरणमा पुगिसकेका छन् ।
यसपटक युइएफएले अन्तिम आठदेखि होम एन्ड अवे गरी दुई खेल नखेलाई एउटा मात्रै नकआउट म्याच खेलाउने निर्णय गरेको छ ।
यी खेलहरु पोर्चुगलका चार वटा रंगशालामा बिना दर्शक खेलाइने छ ।
कोरोना महामारीका कारण स्थगित हुनुअघि लिगको सेमिफाइनल र फाइनल टर्कीको स्तानबुल सहरमा हुने भनिएको थियो ।
महामारी पछि इस्तानबुल शहरलाई प्रतियोगिता आयोजना गर्न अप्ठ्यारो भएकोले समझदारीमा प्रतियोगिताको स्थान नै सार्ने निर्णय गरिएको हो ।
अब इस्तानबुलले सन् २०२१ को फाइनल आयोजना गर्नेछ ।
त्यस्तै महिला च्याम्पियन्स लिग २१ देखि ३० अगस्टसम्म स्पेनमा हुनेछ भने युरोपा लिग ७ अगस्टदेखि जर्मनीमा हुनेछ ।
Categorized in स्पाेर्ट्स