बेन्जेमाको दुई गोलसँगै भ्यालेन्सियामाथि रियालको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ६, शनिबार

स्पेनिस ला लिगामा शुक्रबार राति भएको खेलमा रियाल म्याड्रिडले भ्यालेन्सियालाई ३-० ले हराएको छ ।
रियाल म्याड्रिडको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो स्टेडियममा विना दर्शक खेलाइएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोश्रो हाफमा रियालका करिम बेन्जेमाले २ गोल गरे भने मार्को एसेन्सियोले एक गोल थपेर टिमलाई जित दिलाए ।
दोस्रो हाफको ६१ औं मिनेटमा र ८६औं मिनेटमा बेन्जेमाले गोल गरेका थिए । मार्को एसेन्सिओले ७६ औं मिनेटमा टिमलाई एक गोल दिएका थिए ।
खेलको करीब अन्तिम समयतिर पुगेर ८९औं मिनेटमा भ्यालेन्सियाका ली काङ रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए ।
यो खेलको दुई गोलसँगै फ्रान्सका ३२ वर्षीय करिम बेन्जेमाले रियालका लागि २ सय ४३ गोल गरेका छन् ।
यसक्रममा उनले फेरेन्क पुस्कासलाई पछाडि छोड्दै रियालमा सर्वाधिक गोल गर्ने खेलाडीको पाँचौ स्थानमा पुगेका छन् ।
यो जितसँगै रियालले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी दुईमा झारेको छ ।
रियाल २९ खेलबाट ६२ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बार्सिलोनाको २९ वटै खेलबाट ६४ अंक छ ।
तेस्रो स्थानको सेभियाको ५०, चौथो स्थानको गेटाफेको ४६ र पाँचौ स्थानको एट्लेटिको पनि ४६ अंक छ ।
शुक्रबारै भएको अर्को खेलमा एलाभेसले रियल सोसिडाडलाई २–० ले हराएको छ ।
Categorized in स्पाेर्ट्स