arin enterprises

डिस्चार्ज हुनेको संख्या आजसम्मकै उच्च, एकैपल्ट ३७० जना डिस्चार्ज

SamacharDesk – विकाश | २०७७ आषाढ ८, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा संक्रमितहरु निको भई घर फर्केका छन् ।

आज एकैपल्ट देशका विभिन्न भागको अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत ३ सय ७० जना संक्रमितहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । तीमध्ये ३२ महिला छन् भने ३ सय ३८ जना पुरुष रहेका छन् ।

कोरोना विशेष अस्पताल दाङबाट एक महिला र ५ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट ४ महिला र २ पुरुषको साथमा कालिकोट अस्पतालबाट २ महिला र २६ पुरुष संक्रमणमुक्त भई घर फर्केका छन् । दैलेख अस्पताल दुल्लुमा उपचाररत १९ महिलाको साथमा २ सय ४६ पुरुषहरु निको भई डिस्चार्ज भए ।

त्यसैगरी सल्यान अस्पतालमा एक महिला र ३६ पुरुष, नारायणी अस्पताल वीरगंजमा २ महिला र ९ पुरुष अनि धादिङ अस्पतालमा ४ महिला र १३ पुरुष पनि कोरोनालाई जित्दै डिस्चार्ज भएका छन् ।

आज निको हुनेको संख्यासँगै नेपालमा कोरोना संक्रमण निको हुनेको कुल संख्या २ हजार एक सय नाघेको छ । कोरोना संक्रमण निको हुनेको संख्या २ हजार एक सय ४२ पुगेको छ । तीमध्ये एक सय ६१ महिला र एक हजार ९ सय ६१ पुरुष रहेका छन् ।

Categorized in समाज