स्पेनमा राज्य आपतकालको अन्त्य, सबैजना देशभरि स्वतन्त्र घुम्न पाइने
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ८, सोमबार

स्पेनमा कोरोनाभाइरस महामारी रोकथामको लागि गरेको तीन महिना लामो लकडाउन पछि आपतकालिन अवस्था समाप्त भएको घोषणा गरिएको छ ।
स्पेनले आइतबारबाट आपतकालिन अवस्था अन्त्य भएको घोषणा गर्दै युरोप र बेलायतका पर्यटकहरुको लागि सिमाना पुनः खोलेर घुम्ने अनुमति दिएको छ ।
स्पेनले यूरोपियन युनियन र शेन्जेन क्षेत्रका देशहरुको लागि आफ्नो नाका फेरि खोलेपनि पोर्चुगलको नाका भने १ जुलाईसम्मको लागि बन्द गरेको छ ।
बेलायत बाहेकका शेन्जेन क्षेत्रका देशहरुको लागि भने क्वारेन्टाइन बस्नुपर्ने हुन्छ ।
स्पेनवासीहरुले एकपटक फेरि आफ्नो देशमा स्वतन्त्र यात्राको मजा लिन सक्ने भएपनि सबैले सामाजिक दुरी लगायतका नियम पालना गर्नुपर्ने हुन्छ । मानिसहरूले एक अर्काबाट कम्तीमा ५ फिट टाढा बस्नुका साथै पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनु पर्ने हुन्छ ।
स्पेनले वार्षिक ८ करोडको हाराहरीमा पर्यटकहरु भित्र्याउने गर्छ । गर्मीको छुट्टी सकिनु अघि फेरि पर्यटक बजार खोलिनु अहिले स्पेनिस अर्थतन्त्रका लागि महत्वपूर्ण मानिएको छ ।
समुद्री किनार, स्वीमीङ्ग पूल, फिल्म हल, स्कूल र रेष्टुरेन्ट लगायतका सार्वजनिक स्थानहरुमा भेला हुन सकिने अधिकतम संख्या भने स्थानीय सरकारले तोक्ने जनाइएको छ ।
स्पेनले आफ्ना नागरिकहरूका लागि केहि हप्तादेखि प्रतिबन्धहरू सहज बनाइरहेको थियो । यहाँ राष्ट्रिय आपतकालिन अवस्थाको अन्त्यसँगै तीन महिनादेखि भइरहेको लकडाउन पनि हटेको बीबीसीले लेखेको छ ।
म्याड्रिड शहरको प्रसिद्ध प्लाजा मेयर र वरपरका क्षेत्रमा बारहरू र रेस्टुरेन्टहरू केही हप्ता अघिबाट नै खुला गरिएको थियो ।
यद्यपि म्याड्रिड र अन्य पर्यटकीय शहरहरूमा धेरै होटलहरू बन्द । उनीहरू ठूलो संख्यामा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमनका लागि पर्खिरहेका छन् ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार पत्रकार सम्मेलनमा देशभरि फैलिएको भाइरसलाई रोक्न योगदान पु¥याउने समाजका सबै क्षेत्रलाई धन्यवाद दिए । उनले सबैले देशका लागि गरेको त्याग, देशप्रतिको जिम्मेवारी र अनुशासनको भावनाको प्रशंसा गरे ।
स्पेनमा हालसम्म २ लाख ४३ हजार २ सय ७२ जना संक्रमित छन् । ती मध्ये एक लाख ५० हजार ३ सय ७६ जना निको भइसकेका छन् भने २८ हजार ३ सय २३ जनाले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय