arin enterprises

टिकटक स्टार सियाले गरिन् आत्महत्या

SamacharDesk – शिवेश शर्मा | २०७७ आषाढ १३, शनिबार

भारतीय मनोरञ्जनको संसारमा वलिउड स्टार सुसान्त सिंह राजपुतको आत्महत्याका खबरहरु सेलाउन नपाउँदै फेरी एक अर्का स्टारको आत्महत्याको खबर आएको छ ।

भारतकी १६ वर्षीया टिकटक स्टार सिया कक्करले आत्महत्या गरेकी छन् । 

बुधबार राती ९ बजेतिर नयाँ दिल्लीको आफ्नै निवास गीता कोलोनीमा कोठामा झुन्डिएको अवस्थामा उनको मृत शरीर भेटिएको थियो । 

वलिउडका फोटोग्राफर भाइरल भयानीले आफ्नो सामाजिक संजालको भित्तामा सियाको आत्महत्याको बारे लेखेपछि घटना बाहिर आएको हो ।

घटना लगत्तै दिल्ली प्रहरीले थप अनुसन्धानका लागि सियाको फोन सिज गरेको छ । 

अधिकारीहरुले उक्त फोन खोल्न नसकिरहेको र परिवारका सदस्यको मद्दतले खोल्ने प्रयास भइरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

सियाले आत्महत्या गर्नुको कारणबारे खुलिसकेको छैन ।

यो बारे उनको परिवारले कसैसँग केही कुरा गर्न नमानेको बताइएको छ ।

केही सञ्चारमाध्यमहरुले उनलाई सामाजिक सञ्जालमा दिनहुँ जसो धम्की आउने गरेकोले उनी तनावमा रहेको जनाएका छन् । साथै विगत ४ दिनदेखि उनी डिप्रेसनबाट गुज्रिरहेको दिल्ली पुलिसले बताएको छ ।

उनको परिवारले प्रहरी तथा प्रशासनसँग घटनाबारे सूक्ष्म अनुसन्धानको माग गरेका छन् ।

उनी लकडाउन अवधिभर आफ्नै घरभित्रै बसेकि थिइन् । 

उनले आत्महत्या गर्नु केही घण्टा अघिमात्रै घरभित्रै एउटा सानो भिडियो सुट गरेर इन्स्टाग्रामको स्टोरीमा राखेकी थिइन् ।

उनको टिकटकमा १ लाखभन्दा बढी र इन्स्टाग्राममा २ लाख बढि फलोवरहरु रहेका छन् ।

Categorized in पेजथ्री