arin enterprises

उपत्यकाको तीनै शहरमा संक्रमित भेटिए, कुल संक्रमित संख्या १३ हजार नाघ्यो

SamacharDesk – विकाश | २०७७ आषाढ १५, सोमबार

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ ।

आज थप ४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ । 

आज ३ सय ६४ जना पुरुष र एक सय १२ जना महिलामा कोभिड १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

कुल संक्रमितमध्ये ११ हजार ६ सय ६२ जना पुरुषहरु छन् भने एक हजार ५ सय ८६ जना महिला छन् ।

आज काठमाडौं उपत्यकाभित्रका तीनवटै शहरमा संक्रमित भेटिएका छन् । काठमाडौंमा २ महिला र ४ पुरुष गरी ६ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी पाटन अस्पतालमा गरिएको नमूना परिक्षणमा ललितपुरमा एक पुरुष र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा भक्तपुरका एक पुरुषमा संक्रमण देखिएको हो ।

बाजुरामा २८ महिला र ७० पुरुष गरी ९८ जना नयाँ संक्रमित भेटिएका छन् ।

डोटीमा १७ महिला र ५२ पुरुष गरी ६९ जना संक्रमित देखिएका छन् ।

महोत्तरीमा ३ महिला र ५३ पुरुषमा संक्रमण पुष्टि भएको छ । दाङमा २२ महिला र ३६ पुरुष गरी ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार एक सय ३४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १ सय २१ जना संक्रमितहरु निको भएका छन् ।

देशभरमा आजसम्ममा पिसिआर विधिबाट २ लाख २३ हजार ६ सय ३० र आरडिटी विधिबाट २ लाख ९७ हजार ८ सय ७१ वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ७ हजार ७ सय ९१ र आरडिटी विधिबाट एक हजार ८ सय २२ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५७ हजार ३ सय ६८ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या १० हजार ८५ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । गत १३ गते स्टार अस्पताल सानेपामा मृत्यु हुने रौतहटका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेको छ ।

Categorized in राष्ट्रिय