arin enterprises

चुच्चे नक्साबारे चीनलाई पत्राचार गरेको पत्र भेटिएन

SamacharDesk | २०८० भाद्र २१, बिहिबार

चुच्चे नक्साबारे मित्रराष्ट्र चीनलाई पत्राचार नगरेको खुलासा भएको छ ।

आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताउनुभएको छ ।

तीन वर्षअघि प्रतिनिधिसभाले २०७७ जेठ ३१ मा सर्वसम्मतले अनुमोदन गरी संविधानको अनुसूचीमा राखेपछि चीनलाई त्यसबारे पत्राचार गराइएको पत्र नभेटिएको मन्त्री साउदले बताउनुभएको हो ।

भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा एमालेबाट प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । संसदीय समितिले त्यस्तो नक्साबारे अन्य राष्ट्रलाई जानकारी गराइएको छ कि छैन भनेर परराष्ट्रमन्त्री साउदलाई बोलाएको हो ।

तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले पत्राचार गरिएको दाबी गरेको विषय संसदीय समितिमा उठेको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी असोज ६ गते हुने चीन भ्रमणको तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमण, चीनले जारी गरेको नयाँ नक्सा र चिनियाँ राजदूतले दिएको अभिव्यक्तिबारे समितिको बैठकमा उहाँले प्रधानमन्त्रीको चीन भ्रमण बारेमा सबै मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरेको जानकारी दिनुभयो ।

Categorized in राष्ट्रिय