भारतमा कोरोना निको हुनेको संख्या लाख नाघ्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २१, बुधबार

पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितका साथै निको हुनेको संख्या पनि बढदो दरमा छ ।
भारतको स्वास्थ मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १ लाख भन्दा बढि संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा करिब ४ हजार ५ सय ३१ जना संक्रमित निको भएको तथ्याङ्क भारतीय स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्र हो । यहाँ ७२ हजार ३ सय जना मानिसमा कोरोना संक्रमण देखिँदा २ हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ ।
३१ हजार ३ सय ३३ जनाले कोरोनालाई जितेर स्वास्थ्य लाभ गरीसकेका छन् ।
तामिलनाडुमा २४ हजार ५ सय ८६ जनामा संक्रमण देखिएको छ भने १ सय ९७ जनाको मृत्यु भइसकेको छ । १३ हजार ७ सय ६ जनाले कोरोनालाई जितेका छन् ।
भारतको संघीय राजधानी दिल्लीमा पनि २२ हजार १ सय ३२ जना संक्रमित हुँदा ५ सय ५६ जनाले ज्यान गुमाएका छन् । ९ हजार २ सय ४३ जना निको भएको छ ।
गुजरातमा १७ हजार ६ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ९२ जनाको मृत्यु भएको छ । ११ हजार ८ सय ९४ जनाले कोरोनालाई जितेका छन् ।
कोरोना संक्रमणबाट सर्वाधिक प्रभाव पारेको सातौं राष्ट्र भारतमा अहिलेसम्म २ लाख १६ हजार ४ सय २९ जनामा संक्रमण देखिएको छ । तीमध्ये अहिलेसम्म ६ हजार २७ जनाको मृत्यु भएको छ भने १ लाख ३ हजार ९ सय ४९ जना निको भएका छन् ।
हालसम्मको अद्यावधिक तथ्याङ्क अनुसार भारतमा कुल संक्रमित संख्या मध्ये ४८.०२ प्रतिशत उपचार पछि निको भएर घर फर्केका छन् । २.८१ प्रतिशतले ज्यान गुमाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय