arin enterprises

ओ मैंचाको म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – बिराज | २०७७ कार्तिक २९, शनिबार

तिहारको शुरुवात भएसँगै नेपाल सम्वत ११४१ नयाँ वर्षको अवसरमा नेवाः समुदायमा विभिन्न गतिविधिहरुले तीव्रता लिएको छ । यसै सन्दर्भमा नेपालभाषाका गीतका नयाँ म्यूजिक भिडियोहरु धमाधम सार्वजनिक हुँदैछन् ।

आज किशोर महर्जनको आवाजले सजिएको ‘ओ मैंचा, मुसुमुसु न्हिलाः’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीतसँग सम्वन्धित समूह र संचारकर्मीहरुबीच म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै नेवाः अधिकारकर्मी साथै ईलोहँ प्रकाशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्यले म्यूजिक भिडियो लगायत विभिन्न क्षेत्रको माध्यमबाट युवा पुस्ताले नेवाः कला क्षेत्रको विकासमा दिइरहेको योगदानको प्रशंसा गर्नुभयो ।

त्यस्तै निर्देशकद्वय रामकृष्ण खड्गी र सुरेन्द्र तुलाधरले पछिल्लो समय एक पछि अर्को धमाधम नेपालभाषाका म्यूजिक भिडियोहरु सार्वजनिक भइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

गायक महर्जनको साथमा, रचनाकार र संगीतकार अनिल महर्जन, म्यूजिक भिडियो निर्देशक राजन शाही, परिकल्पनाकार दर्शनबीर शाक्य, छायाङ्कार र दृश्य सम्पादक मनोजरत्न शाही, मोडल विपिन शाही र सलुना श्रेष्ठ लगायतले आ–आफ्नो अनुभव सुनाएका थिए ।

 

Categorized in पेजथ्री