अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त
SamacharDesk | २०८१ आषाढ ३१, आइतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्।
प्रचण्डले सदनबाट प्रधानमन्त्री पद गुमाए लगत्तै राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । सो समय आइतबार अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको थियो ।
निर्धारित समयभित्र प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न आग्रह गर्दै संयुक्त रूपमा राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।
ओलीले आफूले शपथ लिँदा भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने बताइएको छ । ओलीले एकैपटक सबै मन्त्री नियुक्त गर्न चाहेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसैअनुसार छलफल गरिरहेका छन् ।
आइतबार रातिसम्म सम्भव नभए पनि भोलि बिहानसम्म मन्त्रीहरु टुंगो लगाउने गरी देउवा लागिपरेको बताइन्छ ।
Categorized in राष्ट्रिय