कार्बन उत्सर्जनको क्षतिपूर्ति कोष बढाउनुपर्छ : प्रधानमन्त्री ओली
SamacharDesk | २०८१ आश्विन ७, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भई विकसित मुलुकले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रसङ्घको मुख्यालयमा जारी सत्रलाई सम्बोधन गर्दै समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादन वृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिनुभयो ।
यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गर्नुभएको थियो ।
उहाँले लाखौँ बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औल्याउँदै गरिबी निवारणमा जोड दिनुभयो ।
महासभामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधिलगायत सहभागी हुनुहुन्छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भएका ओली र मोदीबीच भेटवार्ता भएको हो ।
आधा घण्टा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफलमा भएको बुझिएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सन्जाल एक्स मार्फत् भेटवार्ता फलदायी भएको र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको जानकारी उल्लेख गर्नुभएको छ ।
सोही क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफु छिट्टै नेपाल भ्रमणमा आउने बताउनु भएको परराष्ट्र मन्त्री आरजु राणा देउवाले जानकारी दिनुभयो । भेटमा सहभागी परराष्ट्र मन्त्री राणाका अनुसार नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर कतिपय समस्या समाधान गर्ने सहमति पनि सो भेटमा भएको छ ।
Categorized in राष्ट्रिय