प्रधानमन्त्री ओली आगामी १७ गते चीन जाने
SamacharDesk | २०८१ मङ्सिर १०, सोमबार

चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तालिका तय भएको छ ।
हिजो परराष्ट्र मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा भ्रमण तालिका तय गरेको हो । भ्रमणको तालिका तय गर्न राजदूत सङले हिजो परराष्ट्रमन्त्री आरजु राणा देउवासँगसमेत परामर्श गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ । भेटमा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण तालिका अनुसार मंसिर १९ गते बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने, नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरुसँगको छलफलमा सहभागी हुने र २० गते स्वदेश फर्किने गरी प्रधानमन्त्रीको भ्रमण तालिका प्रस्ताव गरिएको छ ।
प्रधानमन्त्री ओलीभन्दा केही दिन अगाडि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन जाने तयारी छ । यसैबीच प्रधानमन्त्री ओलीले आजै आफ्नो चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्नुहुने भएको छ ।
पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लाग्नु भएको हो ।
Categorized in राष्ट्रिय