अनुगमन समितिबाट आइसोलेसनहरुको स्थलगत अनुगमन
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ भाद्र २६, शुक्रबार

कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित संसदीय उपसमितिले नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु र मनमोहन मेमोरियल अस्पताल आईसोलेसन, दहचोकको अनुगमन गरेको छ ।
उपसमितिले स्थलगत अनुगमनको योजना बनाई आजै पहिलो अनुगमनका लागि नेपाल सशस्त्र प्रहरी असपताल बलम्बु पुगेको थियो ।
अनुगमनको क्रममा त्यहाँ संचालनमा रहेको कोभिड अस्पताललाई थप उचित ब्यवस्थापन गर्न उपसमिति संयोजक संघीय सांसद जीवन राम श्रेष्ठले निर्देशन दिँदै अस्पतालमा स्वास्थ्यकर्मी लगायतका मानवश्रोतको कमि रहेकोले सरकारसँग यसबारे पहल गर्ने आश्वासन दिनुभयो ।
दोश्रो अनुगमनका लागि निजि क्षेत्र अन्तर्गत मनमोहन मेमोरियल अस्पताल, दहचोकमा संचालनमा रहेको आइसोलेसन केन्द्र अनुगमन गरेको हो ।
अनुगमनको क्रममा उक्त आइसोलेसनमा देखिएका कमिकमजोरीहरु लाई तुरुन्त ठिक गरि उचित ब्यवस्थापन गर्न उपसमितिले निर्देशन दिएको छ ।
अस्पताल पक्षबाट प्रति ब्यक्ति उपलब्ध गराईने रकम अपुग भएको गुनासो गरेका थिए ।
उपसमिति संयोजक श्रेष्ठले यस विषयमा सरकार तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने बताउनुभएको थियो ।
सबै ठाउँमा अनुगमनको क्रममा देखिएका कमी कमजोरी तथा ल्याब र क्वारेन्टीनका समस्यालाई छिटै समाधान गरि चुस्त दुरुस्त सेवा प्रवाह गरि कोभिड १९ लाई पराजित गर्न सबै निकायलाई संयोजक श्रेष्ठको टोलिले स्थलगत निर्देशन दिएको छ ।
साथै यस सम्बन्धमा सरकारलाई समेत छिटो भन्दा छिटो समन्वय गर्न निर्देशन दिने संयोजक श्रेष्ठले बताउनुभएको थियो ।
स्थलगत अनुगमनमा उपसमितिका संयोजक श्रेस्ठको साथै सांसदहरु तिल बहादुर महत क्षेत्री, सन्त कुमार थारु, अन्जना बिशन्खे, एकबाल मिया, सरिता न्यौपाने, नमिता चौधरी, उपसमितिका सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेतको उपस्थिती रहेको थियो ।
Categorized in राष्ट्रिय