arin enterprises

कोशी अस्पतालमा उपचाररत एक संक्रमित निको भएर डिस्चार्ज

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ २, शुक्रबार

विराटनगरको कोशी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत भारतीय नागरिक २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान निको भएर विहिबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

२७ दिनको उपचारपछि निको भएर डिस्चार्ज भएका उनलाई रानी मरकजस्थित क्वारेन्टाइनमा राखिएको छ ।

उदयपुरको भुल्केमा रहेका सुल्तानको गत वैशाख ५ गते संक्रमण पुष्टि भएको थियो ।

उक्त केन्द्रमा राखिएकामध्ये उनीसहित डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । हाल कोशी अस्पतालको उपचार केन्द्रमा १८ जना उपचाररत छन् ।

उदयपुर, झापा र भोजपुरमा गरी ३५ जनामा संक्रमण देखिएको थियो । ती सबैलाई कोभिड–१९ उपचार केन्द्रमा राखिएको थियो ।

यसैबीच, प्रदेश १ परीक्षणको कामलाई तीव्रता दिइएको प्रदेश १ सरकारले जनाएको छ ।

यहाँ बिहीबारसम्म प्रदेश १ मा १२ हजारभन्दा बढीको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको छ ।

पी.सी.आर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भइसकेको छ । यस्तै आर.डी.टी. विधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण भइसकेको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा भने बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Categorized in समाज