arin enterprises

शंखपार्कमा खुला व्यायाम स्थलको शुभारम्भ

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख १३, सोमबार

काठमाडौं महानगरपालिका वडा ४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ ।

आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गर्नुभएको हो ।

व्यायामस्थलको शुभारम्भपछि बोल्दै प्रमुख शाक्यले, यी उपकरणको प्रयोग गर्ने उपभोक्ताबाट आएको प्रतिक्रिका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको घोषणा गर्नुभयो ।

‘हामी सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने र पार्कलाई बहुउपयोगी बनाउने योजनाअनुसार काम गरिरहेका छौँ । यसको प्रयोगकर्ताबाट प्राप्त हुने सुझावका आधारमा अन्य पार्कमा पनि सेवा विस्तार गर्नेछौँ’ शाक्यले उद्घोष गर्नुभयो ।

अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान गर्ने, अतिक्रमण हटाउने र सार्वजनिक उपयोगमा ल्याउने काममा धेरै प्रगति भएको दावी गर्दै यसलाई अझै बढाउनुपर्नेमा शाक्यले जोड दिनुभयो ।

त्यस क्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पार्क संस्कार जोगाउन सके सामाजिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

‘व्यवस्थित पार्कले स्थानीयको शारीरिक र मानसिक स्वास्थ्यलाई ठीक बनाउँछ, यी उपकरणको प्रयोग यसकालागि गरिनु पर्छ’ उपप्रमुख खड्गीको भनाइ थियो ।

जडान गरिएका सामानको प्रयोग गर्दै ४ वडाका वडाध्यक्ष मोहनबहादुर विष्टले वडाका अन्य पार्कमा पनि सामान जडान गर्ने सोच रहेको सुनाउनुभयो ।

अहिले पार्कमा व्यायामकालागि करीब ८ लाख रुपैयाँ बराबरका सामान तथा उपकरण राखिएका छन् । यसरी राखिएका उपकरणमा एव्डोमिनल फिटनेस कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिङ्गल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एण्ड फिटनेस राइडर, स्डान्डिङ् एण्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेशन र लेग लिप्टरलगायत छन् ।

Categorized in स्थानीय