निफको ओपनिङ फिल्म ‘आनी छोइङ डोल्माः नथिङ इम्पाेसिबल’
SamacharDesk – बिजयरत्न | २०८० फाल्गुण १३, आइतबार

यसपटकको नेपाल इन्टरनेशनल फिल्म फेस्टीभल (निफ) मा आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ ओपनिङ फिल्म रहने भएको छ ।
फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराए अनुसार जेनिफर लिन र सान बाई निर्देशित यो डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फिल्मको रुपमा रहनेछ ।
आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको बताइएको छ । तर निर्देशक लिनले आनीको स्वतन्त्रताको खोजीको रुपमा यो डकुमेन्ट्री केन्द्रित रहेको बताएकी छिन् ।
हङकङको सिटी युनिभर्सिटीमा आम सञ्चारकी प्राध्यापक लिनले आनीलाई ७ वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेको बताएकी छन् ।
‘सन् २०१० मा गरिबीमा हुर्किएकी बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच आएको थियो । यसको ५ वर्षपछि डकुमेन्ट्री निर्माणको काम थालेकी थिएँ’ लिनले अन्तर्वातामा बताएकी छन् ।
यसै डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेसनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो ।
निफमा पनि यो डकुमेन्ट्री माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन् । विजेता चलचित्रले १ हजार डलर नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछ ।
चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवमा यो साल ४० देशका ८८ फिल्म प्रदर्शन हुँदैछ ।
प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।
Categorized in पेजथ्री