arin enterprises

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

SamacharDesk – बिराज | २०८२ मङ्सिर ४, बिहिबार

चलचित्र विकास बोर्डले तयार पारेको चलचित्र विकास शुल्क पोर्टल सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु भएको छ ।

चलचित्र घरहरूबाट विदेशी चलचित्र प्रदर्शन बापत उठ्ने राजस्वलाई व्यवस्थित, पारदर्शी र अभिलेखिकरण गर्ने उद्देश्य लिएर यो अभिमुखीकरण आरम्भ गरिएको बताइएको छ ।

बोर्डका सदस्य गणेश प्रसाद सुवेदी, अधिकृतहरु दिनेश बानिया, प्रविन पाण्डे तथा एस्टर इनोभेसन प्रा.लि. को प्राविधिक टोलीसहित पहिलो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा चितवन जिल्लामा तालिम सञ्चालन गर्ने योजना रहेको छ ।

यस अन्तर्गत पहिलो तालिम लुम्बिनी प्रदेशको दाङमा सम्पन्न भएको छ । दाङ जिल्लामा रहेका चलचित्र घरहरूलाई पोर्टलको प्रयोग, शुल्क अभिलेखन, प्रतिवेदन व्यवस्थापन तथा प्रणालीगत पारदर्शिता सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको हो ।

यस अभिमुखीकरणले चलचित्र घरहरूलाई अनलाइन प्रणालीमा दर्ता, शुल्क व्यवस्थापन र प्रतिवेदन प्रक्रियामा अझ दक्ष बनाउने विश्वास लिइएको छ । यसले राजस्व पारदर्शिता र चलचित्र क्षेत्रको सुशासनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ ।

यस चलचित्र विकास शुल्कलाई धेरै स्थानीय तह विशेषगरी वडाहरूको प्रमुख आयश्रोतको रुपमा लिइन्छ ।

Categorized in पेजथ्री