arin enterprises

रानीपोखरीको स्वामित्व महानगरपालिकालाई हस्तान्तरण

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ पौष ८, बिहिबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

आज रानीपोखरी परिसरमै गरिएको कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी शुशिल ज्ञवालीले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पोखरी सम्वन्धि कागजातहरुसँगै पोखरीको स्वामित्वसमेत हस्तान्तरण गर्नुभयो ।

रानीपोखरी पुनर्निर्माणको पहिलो चरणको काम सम्पन्न भएसँगै स्वामित्व हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै मेयर शाक्यले रानी पोखरीको दोस्रो चरणको काम सकिएपछि त्यो खण्ड महानगरलाई नै हस्तान्तरण हुने बताउनुभयो ।

‘धरहरा, काष्ठमण्डपलगायतका यी सम्पदाहरु जसले निर्माण गरे पनि राष्ट्रिय धरोहर हुन्, यी धरोहर काठमाडौँ महानगरको कार्य क्षेत्रमा छन् । त्यसैले यसको संरक्षण महानगरले गर्नेछ’ महानगर प्रमुख शाक्यले भन्नुभयो ।

२०७२ सालको भूकम्पले जीर्ण भएको रानीपोखरीको पुननिर्माणको क्रममा बालगोपालेश्वर मन्दिरको शैलीका विषयमा मतान्तर देखिएको थियो ।

योसँगै विभिन्न विषयमा विवाद देखिएपछि पुननिर्माणपछि महानगरको स्वामित्व कायम रहने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई पुननिर्माणको जिम्मेवारी दिइएको थियो ।

समारोहमा महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौंकै प्रतीकको रुपमा रहेको रानीपोखरीले काठमाडौँको साथमा काठमाडौँको व्यवस्थापन गर्ने जनप्रतिनिधिलाई समेत चिनाएको धारणा राख्नुभयो ।

‘विभिन्न उतारचढावविच काम सम्पन्न भयो । सहभागिता भयो भने समृद्धिमा पुग्न समय लाग्दैन भन्ने यो एउटा उदाहरण पनि हो’ उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो ।

पुननिर्माणको पहिलो चरणमा पोखरी र विचमा रहेको मन्दिर, मन्दिर पुग्ने पुल निर्माण सम्पन्न भइसकेको छ ।

उपभोक्ता समितितर्फ ८ करोड १५ लाख रुपैयाँमा पोखरीमा कालीमाटी राखेर निर्माण गरिएको हो । सो काम २०७५ चैत ११ गतेबाट थालिएको काम २०७७ साउन ३० गते सकिएको थियो ।

त्यस्तै ठेक्कातर्फ १७ करोड ४५ लाख रुपैयाँमा बालगोपालेश्वर मन्दिर र पोखरीको बाहिरी भाग बनाउने गरी करीव २६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । २०७६ असार २८ गते सम्झौता गरेर थालिएको काम २०७७ असोज ३० गते सकिएको हो ।

पुननिर्माण गर्दा परम्परागत निर्माण सामग्रीहरु चुना, सुर्खी, बालुवा, काठ, माअप्पा, दाचि अप्पा, फ्याको प्रयोग गरिएको छ । दोस्रो चरणमा उत्तरपट्टि टिकट काउन्टरसहितको पार्क र दक्षिणतर्फ सत्तल, गोलपाटीसहितका संरचना तयार हुँदैछन् ।

प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले योजनाको ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

त्यसैगरी प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले पोखरीको दुवै चरणमा निर्माण सम्पन्न भएपछि दिगो उपयोगको कार्यक्रम बनाएर सञ्चालनमा लैजाने बताउनुभयो ।

सरकारले २०७५ माघ १४ गते प्राधिकरणमार्फत पुननिर्माणको काम गर्ने निर्णय गरेको थियो । 

Categorized in राष्ट्रिय