arin enterprises

पाटन आइपुग्यो पचली भैरव

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० माघ २६, शुक्रबार

करीब २४ वर्षको अन्तरालपछि पचलीको भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा आज पाटन पुगेको छ । पचली भैरव देवगणको परदेश यात्राको क्रममा पाटन ल्याउने परम्परा २०५५÷०५६ सालबाट टुटेपछि यस वर्षबाट फेरी निरन्तर भएको हो ।

२४ वर्षसम्म टुट्न गएको परम्परालाई निरन्तरता दिन ६ गुरु, १५ थकाली र ११ देवगण काठमाडौं ज्याःबहाल द्यःछेँ (देवघर) बाट पाटन आएका थिए ।

काठमाडौंबाट पाटन आइपुगेका देवगणसहितको पचली भैरव १२ वर्षे खड्गसिद्ध जात्राको टोली सुरुमा पाटनढोकाको गणेशमन्दिरमा पुगे भने नृत्यमा सहभागी देवगण भई नाच्ने सबैले त्यहिँ मन्दिरमा बसी मुकुन्डो, पोशाक, गरगहनाबाट सजिए ।

सबै देवगणको हातमा विभिन्न आयुधहरु थिए । सिंघिनीले महापात्र, व्याघ्रिनीले डमरु, कुमारीले मयूरको प्वाँख र खड्ग बोकेका थिए ।

त्यस्तै बैष्णवीको हातमा गदा र चक्र, गणेशसँग बन्चरो, रुद्रायणीसँग दण्ड र ब्रह्मायणी, इन्द्रायणी, बाराही, काली, भैरवको हातमा खड्ग थियो । यसरी सजिएका देवगणहरु पाटनढोकाबाट बालिफल, नकबहिल, धलाचा, क्वालखु, पट्को, भीमसेन मन्दिर, पाटन दरवार स्क्वायर हुँदै हःखाको कोतमा पुगे ।

त्यतिखेर रातको चिसो भएपनि २४ वर्ष पछि बल्ल पाटन आइपुगेको जात्रा हेर्न त्यहाँ सर्वसाधारणको उपस्थिती हेर्न लायककै थियो भन्न सकिन्छ । 

यस्तो नाच सुरु गर्न वा बाजा बजाउन अघि पनि द्यः ल्हाये गर्ने परम्परा छ । नाच वा बाजा बजाउनु अघि नृत्यनाथ वा नासःद्यःलाई आराधना गरिनुलाई द्यः ल्हाये भनिन्छ ।

 

देवता बनिसकेका गण सबैले सुरुमा त्यहि द्यः ल्हाये गर्दै नासःद्यःलाई सम्झे । नृत्यको सुरुवातमा सबभन्दा पहिले हातले विभिन्न मुद्रा बनाउँदै, विभिन्न हाउभाउ, भावभङ्गीसहित भैरव नाचे ।

त्यो बेला पचली भैरवलाई सबै देवगणले साथ दिइरहेका थिए । सबै देवगणसहितको भैरव नृत्य पछि भैरव फेरी एक्लै नाचे । भैरवको यो एकल नृत्यलाई शम्भुनाच भनिन्छ ।

त्यसपछि भैरव अजिमा र बाराहिले सामुहिक नृत्य प्रस्तुत गरे भने अन्त्यमा बलिपूजा गरि शुक्रबारको नाच सम्पन्न भयो ।

भोलि शनिबार न्हिप्याखं भनेर दिउँसो नाच नचाइनेछ ।

Categorized in संस्कृति