arin enterprises

मण्डला थिएटरमा ‘पगला घोडा’ मञ्चन हुँदै

SamacharDesk | २०८० पौष २, सोमबार

मण्डला थिएटरमा ‘पगला घोडा’ नाटक मञ्चन हुने भएको छ । आइतबार निर्माण टिम ‘आकार थिएटर’ ले थिम पोस्टर सार्वजनिक गर्दै नाटकको बारे जानकारी दिएको हो ।

यो नाटक पुस १२ गतेदेखि माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुन लागेको जनाएको छ । यस्तै शनिवार भने दुईवटा शो राखिएको छ ।

भारतीय नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । यस नाटकको नेपाली अनुवाद  शिव खाँड ठकुरीले गरेका हुन् ।

बादल सरकार १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए । उनलाई अनुवादमा सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन्  भने घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् ।

पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्नेको संख्यामा वृद्धि भइरहेकोले यस संवेदनशील विषयवस्तुलाई दर्शक माझ कला मार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसहरूलाई सचेत गराउन यस नाटकको परिकल्पना गरिएको निर्देशक श्रेष्ठ बताउँछन् ।

अहिले समाजमा घटेको घटनालाई दर्शक सामु प्रत्यक्ष रुपमा देखाउनलाई ‘पगला घोडा’ एक उत्कृष्ट कथा रहेको श्रेष्ठको भनाई छ ।

नाटकमा प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीलगायत कलाकारको अभिनय रहने छ। यस्तै सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रूपमा रहेका छन् ।

Categorized in पेजथ्री