arin enterprises

असनमा खट जुधाएसँगै पाहाँचःहे पर्व सम्पन्न

SamacharDesk – बिराज | २०७७ चैत्र ३०, सोमबार

काठमाडौंको पाहाँचःर्‍हे पर्व आज असनमा खट जुधाउनेसँगै विधिवत रुपमा सम्पन्न भएको छ ।

पाहाँचःर्‍हे पर्वको आज तेश्रो दिन असनमा वटु भद्रकाली, टेबहाल भद्रकाली र कंकेश्वरीको खट जुधाइएको हो । आज दिउँसो असनमा अन्नपूर्णको मन्दिर अगाडी खट जुधाइएको हो ।

सो क्रममा वटु भद्रकाली र टेबहाल भद्रकाली राखिएको खटलाई कंकेश्वरीको खटले तीन पल्ट परिक्रमा गराइन्छ । त्यसपछि टेबहाल भद्रकालीको खट र कंकेश्वरीको खटको मसाल साटासाट गरिन्छ । यसप्रकार दुइवटा खटको मसाल साटासाट गर्ने परम्परालाई नै खट जुधाउने भनिन्छ ।

खट जुधाउने क्रममा असनका घरहरुको छतबाट चामलको पिठोबाट बनाइने चतांमरि छर्ने गरिन्छ । पछिल्लो समय असनको भिन्तुना गुथिले चतांमरि छर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ ।

यस अघि हिजो राती टुँडिखेलमा खट जुधाइएको थियो । पर्वको दोश्रो दिनको राती टुँडिखेलमा कंकेश्वरी र वटु भद्रकालीको मसाल साटासाट गर्ने गरिन्छ ।

त्यसैगरी हिजो दिउँसो टोलटोलमा बालबालिकाहरुलाई मरःजा ख्वाइएको थियो । तान्त्रिक विधिबाट पूजा सम्पन्न गरी पकाइएको भात मरःजा खुवाएमा बालबालिकाहरु निरोगी रहने जनविश्वास रहेको छ ।

Categorized in संस्कृति