arin enterprises

पशुपतिमा भक्तजनहरुको घुइँचो

SamacharDesk | २०८१ श्रावण २८, सोमबार

आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

पशुपतिनाथमा पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा  सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले पशुपतिलगायत देशका शिवालयहरुमा भक्तजनहरुको घुइँचा लाग्ने गर्दछ ।

साउन महिनामा  विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका  छन् ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार बताउनुहुन्छ ।

साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् ।

हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्ने गर्दछन् ।

हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका तिर्थस्थलमा लागेको छ ।

Categorized in संस्कृति