पाकिस्तानमा शनिबारबाट लकडाउन खुल्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख २५, बिहिबार

कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दो दरमा रहेपनि पाकिस्तानले लकडाउन खोल्न लागेको छ । संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि पाँच सातादेखि जारी लकडाउन पाकिस्तानले शनिबारदेखि खुला गर्न लागेको हो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विहिबार देशवासीको नाममा सम्वोधन गर्दै पाकिस्तानमा ठूलो संख्यामा गरिब तथा मजदुरहरु रहेकाले लकडाउन जारी राख्दा उनीहरुको दैनिक जीवनयापन गर्न नसक्ने भन्दै लकडाउन हटाउने निर्णय गरिएको बताए ।
प्रधानमन्त्री खानले मुलुकमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकोमा आफू जानकार रहेको पनि बताए । तर पाकिस्तानमा अपेक्षा गरिएअनुसार कोरोना भाइरसको संक्रमण भने नफैलिएको उनको दावी छ ।
लकडाउन खुलेतापनि हरेक नागरिक, सञ्चालन हुने पेसा व्यवसाय र उद्योगले निश्चित मापदण्ड पालना गर्नुपर्ने बताइएको छ । मापदण्ड पालना गर्दापनि कोरोनाभाइरसका संक्रमित बढेमा फेरि लकडाउन हुने खानको भनाई छ ।
लकडाउन खुले पनि सार्वजनिक यातायात, हवाई र रेल सेवा बन्द नै रहनेछन् भने विद्यालय पनि जुलाई १५ सम्म बन्द रहनेछन् ।
पाँच सातादेखि लकडाउन जारी रहेपनि बिहीबार पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा एक हजार पाँच सय २३ नयाँ संक्रमित फेला परेका छन् । एक दिनमा फेला परेका नयाँ संक्रमितको यो संख्या पाकिस्तानको लागि अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या २४ हजार ७३ पुगेको छ । पाँच सय ६४ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने ६ हजार ४ सय ६४ जना निको भइसकेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय