गंगा आरतीको भिडियो खिच्न नपाइने सूचनामा विकास कोषको आपत्ती
SamacharDesk – बिराज | २०८० पौष २२, आइतबार

पशुपति आर्यघाटको गंगा आरतीको भिडियो खिच्न नपाइने सूचनामा विवादको विषयमा पशुपति क्षेत्र विकास कोषले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
पशुपति विकास कोषले विज्ञप्ती जारी गर्दै कोषको लोगोसहित बुढासुब्बा डिजिटल प्रा.लि.ले जारी गरेको सूचनामा आफ्नो कुनै संलग्नता नभएको जनाएको हो ।
विज्ञप्तीमा पशुपतिको गंगा आरतीको भिडियो फेसबुक, इन्स्टाग्राम, टिकटक, तथा युट्युबमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारवाही हुने भनी विभिन्न सामाजिक संजालमा प्रकाशित सूचनाप्रति कोषको ध्यानाकर्षण भएको जनाइएको छ ।
कोषको लोगो र नामसमेत प्रयोग गरी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको भनिएको छ ।
विकास कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनको हस्ताक्षर रहेको विज्ञप्तीमा लेखिएको छ, ‘सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशित प्रति कोषको कुनै संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।’
केही दिन अघि मात्रै बुढासुब्बा डिजिटल प्रा.लि. सँगै पशुपति क्षेत्र विकास कोषको नाम र लोगोसहित सूचना जारी भएको थियो । सूचनामा पशुपति वागमति किनारको गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाहि गरिएको भनिएको थियो ।
साथै खिचिएका भिडियो फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने समेत भनिएको छ ।
यो सूचना प्रकाशित भएपछि सामाजिक संजालमा भाइरल नै भएको थियो ।
