पाटनको पुरानो चाकु पसल (फोटो फिचर)
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ १, शनिबार

आज माघे सङ्क्रान्ति, अर्थात् घ्यु–चाकु खाने दिन । प्रायः चाकु भन्नेबित्तिकै सबैले काठमाडौँको पुरानो बस्ती टोखालाई सम्झन्छन् ।
चाकुको लागि टोखा प्रसिद्ध भए पनि पाटनमा भने यहाँको पुरानो चाकु पसलमा राम्रै चहलपहल हुने गर्दछ ।
पाटनको टंगल टोलनजिकै जोशीचोक रहेको छ । यहाँ चाकु उत्पादनमा लागिरहेका छन्, पाँचजना जोशी दाजुभाइहरू — जिलेन जोशी, सुरेन्द्र जोशी, निलेन्द्र जोशी, शैलेन्द्र जोशी र दीपु जोशी ।
जोशीचोकमा चाकु उत्पादनको इतिहास १०० वर्षभन्दा बढी भएको चाकु उत्पादक जिलेन जोशी बताउँछन् । उनका हजुरबुबा भीमदास जोशीले चाकु बनाउन सुरु गरेको उनी बताउँछन्, त्यसपछि उनका बुबा सूर्यदास जोशी र ठूलोबुबा बाबाज्यान जोशीले सो व्यापारलाई अगाडि बढाए ।
अहिले पारिवारिक बिँदो थामिरहेका छन्, पाँच दाजुभाइ । जिलेन जोशी र दीपु जोशी त अझ अफिस बिदा लिएर यो परम्परागत कामलाई निरन्तरता दिइरहेका हुन् ।
चाकु उत्पादनमा उनीहरूले सहयोगी पनि राखेका छन् । सँगै काम गरिरहेका कृष्ण महर्जन आफू सानो छँदादेखि नै यहाँ काम गरिरहेको बताउँछन् । उनी पनि डकर्मी काम छोडेर माघे सङ्क्रान्तिका लागि चाकु बनाउने काम गर्न यहाँ लागिरहेका छन् ।
त्यस्तै, अर्का सहकर्मी काजीरत्न महर्जन पनि आफ्नो पसल छोडेर त्यहाँ समय दिइरहेका छन् ।
माघे सङ्क्रान्तिभन्दा डेढ–दुई महिनाअघिदेखि कामको चाप सुरु हुन्छ । काम हुन्छ बिहान ४ बजेदेखि राति ८ बजेसम्म ।
चाकु बनाउनका लागि सख्खर तराईबाट आउने गरेको जोशी बताउँछन् । त्यस सख्खरलाई डेढ घण्टाजति आगोमा उमालिन्छ । यो काम निकै जोखिमपूर्ण भएको उनी बताउँछन् । “चाकु निकै तातो हुन्छ,” जोशी भन्छन्, “चाकु उम्लिएर छिटा मात्र छालामा लाग्यो भने पनि त्यो खतरनाक हुन्छ ।”
सादा चाकु बनाउने हो भने सख्खर मात्र राखिन्छ भने मसलावाला चाकु बनाउन दूध, खुवा र नरिवल पनि मिसाइन्छ । तातो सख्खरलाई पछि अथलमा राखेर सेलाइन्छ र ढुङ्गामा फैलाएर राखिन्छ । सेलाएपछि चाकुलाई किलामा राख्दै तन्काउने काम गरिन्छ ।
“यहाँ दैनिक १०० देखि ११५ धार्नी चाकु उत्पादन हुन्छ । अनि बजारसम्म पुर्याउन अहिलेसम्म जानु परेको छैन,” जिलेन जोशी बताउँछन्, “पुरानो ठाउँ भएकोले सबैले यहीँ लिन आउँछन् ।”
जोशीचोकमै चाकु लिन पहिले निकै भीड लाग्ने गरेको जोशीको अनुभव छ, तर अहिले महामारीका कारण त्यति भीड छैन । तैपनि उत्पादनमा भने कमी नआएको उनी बताउँछन् । आजभोलि बाहिरी पर्यटक पनि सो ठाउँमा चाकु किन्न आउने गरेको उनी थप्छन् ।
