निजी सवारीले भाडा लिएर यात्रु बोक्न नपाउने
SamacharDesk | २०७९ चैत्र २३, बिहिबार

निजी सवारीसाधनले अब उप्रान्त भाडा लिएर यात्रु बोक्न नपाउने भएको छ ।
बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ ।
यो निर्देशन पश्चात भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्ने भएको छ । जसको प्रत्यक्ष मार हाल निकै लोकप्रिय भइरहेको पठाओ, इन्ड्राइभ, टुटल जस्ता राइड सेवा प्रदायक दर्जनौं कम्पनीहरुलाई परेका छन् ।
एपको प्रयोगबाट विगत केही समयदेखि राइड सेवा दिंदै आएका यस्ता कम्पनीबाट यात्रुहरुले केही राहत महसुस गर्दै आएको थिए तर गृहको यस्तो निर्देशनपश्चात पुरानै यातायात व्यवस्थाबाट यात्रुहरुले सास्ती भोग्नुपर्ने देखिन्छ ।
यस्ता राइड सेवाप्रदायकहरु छोटो रुटको लागि मात्र नभई लामो रुटमा समेत लोकप्रिय हुन थालेपछि सार्वजनिक यातायात व्यवसायीहरु भड्किएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले मंगलबार गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुर्याउने गरी निजी सवारीको रुपमा दर्ता भएका सवारी साधनहरु उद्देश्य विपरीत आफूखुशी भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको गुनासो गरेको थियो ।
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ मा एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्ने नपाइने व्यवस्था भएपनि विभिन्न स्थानहरुमा निजी सवारी साधनहरुले सार्वजनिक सरह सवारी सञ्चालन गरेको महासंघको भनाइ थियो ।
Categorized in राष्ट्रिय