arin enterprises

पत्रकार दबूका अध्यक्ष श्रेष्ठलाई भारतमा पत्रकारिता पुरस्कार

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ २६, सोमबार

नयाँ दिल्ली । नेवाः पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ भारतको नयाँ दिल्लीमा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपालभाषाको साप्ताहिक पत्रिका लहना’का प्रकाशक एवम् प्रधान सम्पादक समेत रहेका श्रेष्ठलाई भारतको नयाँ दिल्लीमा आयोजित दक्षिण एसियाको शान्ति स्थापना र सहयोगमा पत्रकारिताको भूमिका बिषयक अन्तर्राष्ट्रिय सम्मेलनमा पुरस्कृत गरिएको हो ।

नयाँ दिल्लीस्थित भारतीय विद्यापीठ र सार्क जर्नलिस्ट फोरम इण्डिया चाप्टरले आयोजना गरेको सम्मेलनमा यस बर्षको तृतीय युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट श्रेष्ठको साथमा भारतका शशिभुषण कुमारलाई पनि सम्मानित गरिएको थियो ।

यो पुरस्कार सार्क जर्नालिष्ट फोरम भारत च्याप्टरबाट स्थापित हो ।

सोही कार्यक्रममा राजु लामा, अब्दुर रहमान, राहुल सामन्था, रुद्र सुवेदी, सदाव मालिक, दिपेन्द्र प्रजापती, शैलेश साह कानु, अभिलाष गुप्ता, अजमत अलि लगायतका पत्रकारहरुलाई पनि अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटान, लगायतका देशबाट आएका पत्रकारहरुबिच बृहत छलफल भएको छ ।

भारतीय विद्यापीठका निर्देशक फ्रोफेसर एम एन होदाको अध्यक्षतामा भएको कार्यक्रममा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव मो.अब्दुर रहमान, सदस्य इस्मिता मिश्रा, श्रीलङ्का चाप्टरका अध्यक्ष राहुल सामन्था, इण्डिया चाप्टरका अध्यक्ष अनिरुद्ध सुधांशु लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा फोरमका अन्तर्राष्ट्रिय सदस्य भुटानका रिन्जिन वाङचुक र पाकिस्तान च्याप्टरका महासचिव हुश्नयन चौधरीले भिडियो सन्देशमार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा सहभागी बक्ताहरुले सार्क क्षेत्रमा शान्ति स्थापना गर्न चुनौतीपूर्ण भए पनि पत्रकारिताको माध्यमद्वारा सक्दो प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।

Categorized in समाज