arin enterprises

४५ वर्ष अघि इतुंबहालबाट हराएको पौभाः नेपाल फर्कियो

SamacharDesk – बिराज | २०८२ श्रावण ११, आइतबार

२०३७ सालमा हराएको १५–१८ औँ शताब्दीको इतुंबहालका तीन बहुमूल्य पौभा चित्र पहिलेकै यथास्थनमा पुगेका छन् ।

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल राष्ट्रिय सङ्ग्रहालयको हलमा अमेरिकाबाट फिर्ता भएका ती पौभा श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यलाई हस्तान्तरण गरे ।

फिर्ता भएका पौभाः चित्रमा श्री केशचन्द्र महाविहारको करिब ५५० वर्ष पुराना चित्रकलामा ‘चिन्तामणि लोकेश्वर’, ‘केशचन्द आजु भैरव दर्शन गरिरहेको’ तथा ‘गगनसिं र उहाँका दुई श्रीमती’ रहेका छन् ।

ती पौभा इतुंबहाल फर्काउन ठूलो संख्यामा स्थानीय र सम्पदाप्रेमी राष्ट्रिय सङ्ग्रहालय पुगेका थिए ।

राष्ट्रिय सङ्ग्रहालयको हलमा प्रदेश सांसद शैलेन्द्र वज्राचार्य, काठमाडौँ उपमहानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल र राष्ट्रिय सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीको उपस्थितिमा पौभाः हस्तान्तरण गरिएको थियो ।

सम्पदाको संरक्षणमा नयाँ पुस्ता लाग्नुपर्नेमा जोड

सो अवसरमा उपप्रधानमन्त्री सिंहले जनमत संग्रहको समयमा चोरी भएका देशकै गौरवको रुपमा रहेका पौभा कैयौँ वर्षको प्रयासपछि पुनः यथास्थानमा पुगेकामा खुसी व्यक्त गरे ।

प्रदेश सभा सांसद शैलेन्द्र वज्राचार्यले यी पौभाको संरक्षणमै जोड दिँदै सम्पदाको संरक्षण सम्वध्र्दनमा नयाँ पुस्ता लाग्नुपर्ने धारणा राखे ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सम्पदा पहिलेकै ठाउँमा पुनस्र्थापना गरेपछि एउटा च्याप्टर सकिएको अब संरक्षणको नयाँ च्याप्टर सुरु भएको भनिन् ।

राष्ट्रिय सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले यस्ता अमूल्य सम्पदा व्यवस्थित रूपमा संरक्षणको पक्ष भने अझै पनि चिन्ताको विषयको रुपमा रहेको विचार राखिन् ।

हस्तान्तरण कार्यक्रमपछि ती पौभा गुंला बाजासहित इतुंबहाल भित्र्याइएको थियो ।

इतुंबहालबाट सिकागो पुगेको थियो ती पौभाः

करिब चार महिनाअघि अमेरिकाबाट फर्काइएका ती पौभाः पुरातत्व विभागले छाउनीस्थित नेपाल राष्ट्रिय सङग्रहालयलाई हस्तान्तरण गरेको थियो ।

त्यसपछि विशेश सुरक्षासहित ती पौभा राष्ट्रिय सङ्ग्रहालयमै रहे । यसबिच केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजले तीन पौभाको उचित व्यवस्थापनमा काम गरिरहेको थियो ।

आफू तयार भएपछि केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजले राष्ट्रिय सङग्रहालयलाई ती पौभाको संरक्षण, संवर्धन र सुरक्षामा विशेष ध्यान दिने प्रत्याभूति दिलाएको थियो ।

त्यसपछि राष्ट्रिय सङग्रहालहालय पहिलेकै स्थानमा प्रतिस्थापन गर्न राजी भएको हो । यस सम्बन्धमा राष्ट्रिय सङ्ग्रहालय र केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजबिच सम्झौता पनि भएको छ ।

सम्पदाविदहरुले इतुंबहालका यी पौभा पौभाले नेपालको मात्र होइन एसियाकै प्रतिनिधित्व गर्न सक्ने बताएका छन् ।

सांस्कृतिक र धार्मिक महत्वले भरिएका यी पौभा गुणस्तरीय तथा ठुलो आकारका छन् ।

गगनसिंको पौभा १९१.८x१६१.९ सेमी सबभन्दा ठुलो आकारको रहेको छ । चिन्तामणि लोकेश्वरको आकार १६४.४x१४३.५ र केशचन्द आजु भैरव दर्शन गरिरहेको पौभाको आकार १६६.४x१३९.६ सेमीका छन् ।

२०३७ भदौ २९ गते ती पौभा महाविहार परिसरबाटै हराएको थियो ।

त्यसपछि सन् २००३ मा अमेरिकाको सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकोगोमा प्रदर्शनीमा राखिएको पत्ता लागेपछि महाविहार संरक्षण समाजले ती पौभा फर्काउन पहल गरेको थियो ।

‘पुरातìव विभागमा पटक पटक जाहेरी निवेदन दिनुका साथै इन्टरपोलमा समेत उजुरी दियौँ । यसकै आधारमा अमेरिकाको सम्बन्धित निकायमा ती पौभा फिर्ता गर्ने कार्यका लागि पहल भयो’ समाजका अध्यक्ष शाक्यले भने ।

‘यसका साथै सम्पदा जोगाउने विभिन्न संस्था हेरिटेज रिकभरी क्याम्पेन, लस्ट आट्र्स अफ नेपालसँग पनि समन्वय गर्यौं। अहिले करिब दुई दशकभन्दा बढी समयको प्रयास सफल भएको छ ।’ 

Categorized in राष्ट्रिय