फिलिप अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ८, शुक्रबार

अमेरिकाका तीव्र गतिका बलर काइल फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको छ ।
अवैध बलिङ एक्सन प्रयोग गरेको भन्दै फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको हो ।
वेस्ट इन्डिजले उनको बलिङ एक्सनको विषयमा रिपोर्ट गरेको थियो । त्यसपछि आइसिसीको प्यानलले फिलिपको बलिङ एक्सन अवैध भएको ठहर गरेको हो ।
आइसिसी नियमको धारा ६.७ अनुसार २६ वर्षीय फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट तुरुन्तै निलम्बन गरिएको छ । फिलिपले आफ्नो बलिङ एक्सनको पुनः मूल्यांकन गर्ने आधार पेश नगरेसम्म निलम्बन कायम रहनेछ ।
जिम्बावेमा भइरहेको आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा फिलिपले वेस्ट इन्डिजविरुद्ध अमेरिकाको पहिलो खेलमा उनले तीन विकेट लिएका थिए ।
नेपालविरुद्धको खेलमा भने उनले सात ओभर बलिङ गरे पनि विकेट लिन सकेका थिएनन्।
यस्तै बिहीबार नेदरल्यान्ड्ससँग पाँच विकेटले पराजित भएको अमेरिकाले क्रिकेट विश्वकप छनोट प्रतियोगितामा आफ्नो पहिलो तीन खेलमा हार बेहोरेको छ ।
तिन खेल खेलेको अमेरिका अंक रहित समूहको पुछारमा छ ।सोमबार अमेरिकाले समूहको अन्तिम खेल जिम्बावेविरुद्ध खेल्ने छ ।
Categorized in स्पाेर्ट्स