बेल बहादुरको फूल खसिगो सार्वजनिकः भिडियोसहित
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ २३, शुक्रबार
बर्दिबास । लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक भएको छ ।
बर्दिबासमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा म्यूजिक भिडियो विमोचन गरे ।
कार्यक्रममा बोल्दै मधेस प्रदेशकी पूर्व राज्यमन्त्री थापाले निरन्तर संघर्ष र साधनाबाट स्थापित भएका कलाकारलाई राज्य र सञ्चार माध्यमले उचित स्थान दिनुपर्नेमा जोड दिइन् ।
नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले स्थानीय स्तरमा रहेका प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई राष्ट्रिय पहिचान दिलाउन आवश्यक रहेको बताए । उनले नगरपालिकाले सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रमा योगदान दिने कलाकारलाई सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
गायक परियारले आफ्नो सांगीतिक यात्राका अनुभव साझा गर्दै वर्तमान समयमा स्रष्टाले सामना गर्नुपरेका चुनौतीबारे चर्चा गरे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीबाट आयोजित कार्यक्रममा समाजसेवी, पत्रकार, राजनीतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यस म्यूजिक भिडियोलाई गायक परियारकै युट्युब च्यानल ‘बेल बहादुर परियार अफिसियल’ मार्फत सार्वजनिक गरिएको छ ।
गीतमा बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको छ भने शब्द तथा संगीत स्वयं परियारकै रहेको छ ।
भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोको कोरियोग्राफी राजाराम सिंखडाले गरेका छन् । छायाङ्कन सन्तोष तिमल्सिना र दृश्य सम्पादन रोशन धितालले गरेका छन् ।
Categorized in पेजथ्री




