पिंक केयरएथनमा महिलाहरुको उत्साहजनक सहभागिता
SamacharDesk | २०८१ बैशाख ९, आइतबार

दुई वर्षकी बालिकादेखि ७० वर्ष सम्मकी महिलाले शनिवार काठमाडौंमा सम्पन्न एकदिने पिंक केयरएथनमा सहभागिता जनाएका छन् ।
महिलाहरूको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यले काठमाडौंमा पिंक केयरएथन’ आयोजना भएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आयोजित कार्यक्रममा बालकदेखि वृद्धसम्म गरी झण्डै दुई हजार महिला सहभागी थिए ।
लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा काठमाडौं पिंक केयरएथन आयोजना गरेको हो । पिंक केयरएथनमा महिला तीन किलोमिटर, पाँच किलोमिटर र १० किलोमिटर दौडमा प्रतिष्पर्धा भए ।
१० किलोमिटरमा आस्था राउत पहिलो भइन् । मनिता घतामी दोस्रो तथा संगीता तामाङ तेस्रो स्थानमा रहिन् । पाँच किलोमिटरतर्पm कल्पना घिमिरे पहिलो भइन् । सुशीला राना दोस्रो र ममिता धामी तेस्रो स्थान प्राप्त गरे ।
तीन किलोमिटर दौडमा तिर्सना कुमार प्रथम, सिमा बिथाडी दोस्रो तथा पार्वती चौधरी तेस्रो भइन् ।
सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरुलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्नप्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।
सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिलाहरूको स्वास्थ्य सेवा र उपचारमा सहयोग गर्न महानगरले निशुल्क क्यान्सर परीक्षण शुरुवात गरिसकेको पनि जानकारी दिइन् ।
यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यस पटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गरिएको हो ।
सन् २०१९ सम्म तीन वर्ष लगातार काठमाडौं पिंकाथनको नामबाट यो आयोजना भएको थियो । कोरोना महामारीपछि यो आयोजना रोकिन पुग्यो । महामारी पछि पहिलोपटक यो आयोजना भएको हो ।
यद्यपि, आगामी वर्षमा भने नियमित रुपमा पिंक केयरएथन हुने आयोजकले जनाएको छ ।
Categorized in समाज