arin enterprises

स्वच्छ वातावरणीय मौलिक हकका लागि वृक्षारोपण

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० जेठ २२, सोमबार

काठमाडौंको ताहाचलस्थित जन प्रभात मा.विं परिसरमा सोमबार वृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो ।

वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको वृक्षारोपण कार्यक्रमा जडीबुटी तथा फलफुलका १०८ बोट वृक्ष रोपिएको छ ।

दिवसको अवसरमा पर्यावरण स्वच्छता बढाउने उद्देश्यकासाथ विद्यालय परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरिएको सञ्जालका अध्यक्ष निरू महर्जनले बताए । सिंगो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै महर्जनले वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एकअर्कालाई प्रभाव पारिरहेको बताए ।

प्रधानाध्यापक सत्येन्द्रलाल कर्ण, कामपा २० वडाध्यक्ष राजेन्द्र मानन्धर, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामशरण डंगोल लगायतले वातावरण संरक्षणमा जोड दिँदै आआफ्ना भनाई राखेका थिए ।

१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो ।

त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।

नेपालमा वातावरण संरक्षण सम्बन्धमा नेपालको अन्तरिम संविधान ०६३ को धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ  ।

स्टेट अफ ग्वोबल एअरले सन् २०२० मा गरेको अध्ययन अनुसार मृत्युको विश्वव्यापी अवस्थामा श्वासप्रश्वास असरका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणका कारण ३० प्रतिशत, मधुमेहका कारण २० प्रतिशत, इस्केमिक हृदय रोगबाट २० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । यस्ता असरको मूख्य कारण वायु प्रदूषण हो ।

यस्तै वायु प्रदूषण न्यूनिकरणका लागि कामपाले विष्णुमती नदीलाई छुने काठमाडौं महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा कामपा १३ वडाका वडासदस्यहरू रजनि महर्जन र मैयाँ देउला तथा २० वडाका सदस्य अनेश चित्रकारलगायत वातावरणसम्बन्धी कार्य गर्ने संस्था एन्फो, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी एवम् शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता थियो ।

Categorized in समाज