arin enterprises

प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपतिबीच टेलिफोन सम्वाद

SamacharDesk – बिराज | २०७७ बैशाख १८, बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राष्ट्रपति रुभेन रुबि रिभ्लिन बीच टेलिफोन सम्वाद भएको छ । आज अपरान्ह ३ः४५ बजेतिर नेपाली प्रधानमन्त्री र इजरायली राष्ट्रपतिबीच करीब २० मिनेट टेलिफोन संवाद भएको थियो । 

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत ट्वीट गर्दै दुइबीच टेलिफोन सम्वाद भएको जानकारी दिनुभएको थियो । ट्वीटमा लेखिएको छ, ‘आज मेरो इजरायलका महामहिम राष्ट्रपति रुभेन रुबि रिभ्लिनसँग टेलिफोन संवाद भयो । मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखें । उहाँले नेपालीहरु आफन्त जस्तै बसेका हुँदा चिन्ता नलिन भन्नु भयो ।’

संवादको क्रममा प्रधानमन्त्री ओलीले इजरायलले कृषि लगायत विविध क्षेत्रमा गरेको अभूतपूर्व प्राविधिक विकासको प्रशंसा गर्दै कृषि प्रधान देश नेपालमा उक्त प्रविधिहरु भित्रयाउन इजरायल सरकारकोे सहयोगको अपेक्षा राख्नुभयो । 

रुभ्लिनले नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

इजरायलका लागि नेपालका राजदूत डा. अन्जान शाक्यले नेपालमा कृषि क्षेत्रको विकास गर्न र इजरायली प्रविधि नेपालमा ल्याउनका लागि नेपालमा Agriculture Center of Excellenceखोल्न दुई देश वीच सम्झौता गर्नका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगिसकेको तथ्य प्रधानमन्त्री ओलीलाई यसभन्दा अघि नै जानकारी दिनुभएको थियो । 

यस्तै शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधि, कला, संस्कृति, पूर्वाधार विकास, व्यापार व्यवसाय आदि विभिन्न अन्य विषयमा पनि विभिन्न सम्झौता भईसकेको कुरा पनि राजदूत डा. शाक्यले अवगत गराउनु भएको थियो ।

सोही सम्वादकै क्रममा प्रधानमन्त्री ओलीले इजरायलको ७२औं स्वतन्त्रता दिवसको शुभकामना समेत व्यक्त गर्नु भएको थियो । यस्तै, नेपाल र इजरायलको दौत्य सम्बन्ध स्थापना भएको ६० बर्षगाँठको पनि शुभकामना दिंदै दुई देशको सम्बन्ध अझ प्रगाढ हुंदै जाने कुरा राष्ट्रपति रुबेन एवं प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको थियो । 

प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपतिबीच संवाद गराउन नेपाली राजदुतावासले सवै प्रवन्ध मिलाएको स्रोतले बताएको छ । 

यस अघि दूतावासको समन्वयमा प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच पनि संवाद भएको थियो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082