प्रधानमन्त्री देउवा तथा अध्यक्ष लीबीच शिष्टाचार भेट
SamacharDesk | २०७९ भाद्र २८, मंगलबार

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्सुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाउनुभएको हो ।
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि उहाँले दोहोर्याउनुभयो । नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उहाँले बताउनुभएको हो ।
उहाँले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । भेटवार्ताका क्रममा देउवाले हिजो सभामुख सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्ति गर्नुभयो ।
सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभयो । भेटमा अध्यक्ष चान्सुले दुई देशबीच ६ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रूपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताउनुभयो ।
उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको पनि बताउनुभयो । हिजो काठमाण्डौं आइपुगेलगत्ते ली राजनीतिक भेटघाटमा ब्यस्त हुनुहुन्छ ।
उहाँले आज विहान राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासंग भेटवार्ता गर्नुभएको थियो । लीले आजै पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमाले प्रतिनिधिमण्डलसंग भेटवार्ता गर्नुभएको थियो ।
ओलीसंगको भेटपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गर्नुभएको थियो । लीले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्नुहुने छ ।
Categorized in राष्ट्रिय