हिमाल आरोहीहरूका लागि कोष स्थापना गर्ने प्रधानमन्त्रीको उद्घोष
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ जेठ १६, बुधबार

आज मे २९, नेपालको साथै विश्वका विभिन्न देशहरुमा पनि ७१औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम मानिसको पाइला परेको दिनको स्मरणमा मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने गरिएको छ ।
नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले सन १९५३ मे २९ मा सगरमाथाको सफलतापूर्व आरोहण गरेका थिए ।
त्यसै दिनको स्मरणमा आज नेपालमा “विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव” भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताए ।
प्रधानमन्त्री दाहालले ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा अर्थ मन्त्रालयसँग कुरा गरेर कोषको काम तत्कालै अघि बढाइने प्रतिवद्धता जाहेर गरे ।
‘नेपाल सरकारले हिमाल जोगाऔँ, मानवता बचाऔँ भन्ने नाराकासाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति अघि सारेको छ । हिमालका मुद्दामा विश्वको ध्यान नेपालतर्फ आकर्षित भएको छ र पर्वतीय देशको नेताको रूपमा नेपाल स्थापित भएको छ’ प्रधानमन्त्री दाहालको दावी हो ।
जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै हिमालमा फोहोरमैलाको व्यवस्थापन लगायतका चुनौतीलाई सरोकारवालाहरुको सहकार्य र समन्वयबाट समाधान गर्ने जानकारी दाहालले दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे ।
पर्यटनमन्त्री तामाङले विश्वभर तापक्रम वृद्धिलगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय र वातावरणमा नकारात्मक प्रभावको सन्तुलन कायम गर्न सगरमाथा आधार शिविरको समग्र अध्ययनका लागि समिति गठन गरेको जानकारी दिँदै समितिले चाँडै नै उपयुक्त निकाससहित सरकारलाई प्रतिवेदन बुझाउने बताए ।
त्यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेको बताए ।
‘६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाइ ८ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाइनुपर्छ’ मुख्यमन्त्री कार्कीले भने ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे, आरोही टेन्डि शेर्पा लगायतले आआफ्ना विचार राखेका थिए ।
आरोहण क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मानः
यसैबीच दिवसकै अवसरमा विभिन्न आरोही तथा आरोहणमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
सो अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पा सम्मानित भएका छन् । व्यवसायी शेर्पाले यसै वर्ष विश्वका सात वटै महादेशका सर्वोच्च शिखरहरूको सफलतापूर्वक आरोहण सम्पन्न गरेका थिए ।
त्यसैगरी इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाई मापक खिमलाल गौतमलाई प्रदान गरिएको छ ।
१५औं चुली पुस्तकका लेखक, नापी विभागका प्रमुख नापी अधिकृत गौतमले सगरमाथाको उचाई ८८४८.८६ मिटर सर्वेक्षण कार्यमा नेतृत्व गरेका थिए ।
त्यसैगरी, सगरमाथाको ३० पटक आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पालाई पनि सम्मान गरिएको छ ।
तेन्जिङ हिलारी पुरस्कारबाट पेमा छिरिङ्ग शेर्पा, महासेनानी सुनिल सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा पुरस्कृत भएका छन् ।
सो अवसरमा इतिहास शिरोमणि स्व. बाबुराम आचार्यलाई मरणोप्रान्त सम्मान गरिएको थियो ।
कार्यक्रम अघि ठमेलबाट बाजाजाजा सहित र्याली निकालिएको थियो भने पर्यटन बोर्डमा रहेको तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको शालिकमा माल्यार्पण पनि गरिएको थियो ।
सो अवसरमा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. गणेश प्रसाद पाण्डे तथा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको शालिकमा माल्यार्पण गरेका थिए ।
Categorized in समाज