एपीएफलाई हराउँदै प्रदेश एकले जित्यो पिएम कप
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष २०, सोमबार

प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश एकले जितेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश एकले डिफेन्डिङ च्याम्पियन एपिएफपलाई हराउँदै उपाधी कब्जा गरेको हो ।
खेलमा प्रदेश एकले विभागीय टोली एपिएफलाई ५ रनले पराजित गर्यो । प्रदेश एकले दिएको एक सय ६ रनको लक्ष्य पछ्याउने क्रममा रहेको एपिएफले पुरा २० ओभर खेल्दै ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सफल भयो ।
टिमका लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन् । करुणा भण्डारीले अविजित २६ रनमा अविजित रहिन् । ज्योति पाण्डेले १४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
टिमलाई उपाधी दिलाउनका लागि कप्तान रुबिना क्षेत्री र एलिसा खडियाले समान दुई–दुई विकेट लिइन् भने संगीत राईले एक विकेट आफ्नो नाममा दर्ता गरिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ५ रन बनाएको थियो ।
प्रदेश एकका लागि ओपनर अप्सरी बेगमले सर्वाधिक ३४ रन र काजल श्रेष्ठले २९ रनको योगदान दिइन् । कप्तान रुबिना क्षेत्रीले १८ रन जोडिन् ।
बलिङतर्फ एपिएफकी सीता राना मगरले ३ विकेट लिइन् भने करुणा भण्डारीले १ विकेट ढालिन् ।
उपाधीसँगै प्रदेश एकले पाँच लाख रुपैयाँ र उपविजेता एपिएफले तीन लाख रुपैयाँ पाएको छ ।
Categorized in स्पाेर्ट्स